कलैया,बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा पछि पर्नुभएका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई धन्यवाद दिनुभएको छ ।उम्मेदवार पौडेलले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई मतदान र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको हो ।‘निर्वाचन प्रचारको क्रममा क्षेत्र भरिका आदरणीय जनसमुदायसंग मत मागियो, नेकपा एमालेको तर्फबाट सफल निर्वाचन प्रचार अभियान चलाइयो । ठुलो संख्यामा मतदाताहरुसंग भेटघाट गरियो । पार्टीका श्रद्धेय अध्यक्ष केपी ओली स्वयंम चुनावी कार्यक्रममा सहभागीता जनाउनु भयो । फेरि पनि निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन र अझ मेहनत गर्न भनिरहेको अवस्था छ ।’ भन्नुभएको छ । उहाँले अगाडि लेख्नुभएको छ– ‘अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाटकाँट देखिएको छैन । यो उपनिर्वाचनले जे जस्तो परिणाम दिए पनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिक विधिवाट आएको जनादेशलाई स्वीकार गर्दछौ र आफुलाई समीक्षा गरेर जुन सुकै अवस्थामा पनि आफ्नो जिम्वेवारीबाट पछि हट्दैनौ । हामी आफुमा रहेका कमी कमजोरी हटाउदै आफैलाई पुनर्गठित गरेर अघि बढ्न संकल्पवद्ध छौ ।’



















