आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकामा कार्यपालिका सदस्यहरुले कार्यालयको विभिन्न शाखामा आइतवार फेरि तालाबन्दी गरेका छन । नगर प्रमुख किशोरीप्रसाद कलवार, उपप्रमुख नजमु शेयरसहित प्रमुख प्रशासकीय अधिृकत दिनेश न्यौपानेको कार्यकक्ष र कार्यालयको योजना तथा जिन्सी शाखामा वडा अध्यक्षहरुको टोलीले ताला लगाएको हो । नगरपालिकाका २१ जना कार्यपालिका सदस्यमध्ये १६ जना तथा ११ जना वडा अध्यक्षमध्ये ८ जनाले संयुक्तरुपमा कार्यालयका विभिन्न शाखामा ताला लगाएका हुन ।नगर प्रमुख कलवारद्वारा कार्यपालिका तथा नगर सभाको निर्णय अनुसार कार्य सञ्चालन नगरी आफू खुशी काम गरेको र पटक पटक आग्रह गर्दा पनि कार्यपालिकाको निर्णयलाई बेवास्ता नगरेकाले ताला लगाउनु परेको वडा नम्बर ३ का अध्यक्ष एजुलाह अन्सारीले बताउनुभयो ।
नगर प्रमुख कलवारले भने कार्यपालिकाबाट भएको निर्णय अनुसार नै आफूले सबै कार्यहरु गर्दैआएको दाबी गर्नुभएको छ । कार्यपालिका सदस्यहरुले कसरी र त्यस्तो बुझ्नु भएको हो र किन कार्यालयमा तालाबन्दी गर्नुभयो आफूले बुझ्न नसकेको मेयर कलवारले प्रतिक्रिया दिनुभएको छ ।वडा नम्बर ४ का अध्यक्ष अवधेशकुमार सहनीको नेतृत्वमा वडा नम्बर १ का वडा अध्यक्ष दिनदयाल मुखिया, वडा नम्बर २ का अरबिन्द मुखिया, वडा नम्बर ३ एजुलाह अन्सारी, वडा नम्बर ४ का अवधेशकुमार सहनी लगायत ८ जना वडा अध्यक्ष र १६ जना कार्यपालिका सदस्यहरुले ताला लगाएका हुन । कार्यपालिकाको बैठकमा भएको निर्णयहरु कार्यान्वयन नहुँदासम्म ताला नखोलिने वडा अध्यक्ष अवधेश सहनीले बताउनुभएको छ । कर्यपालिका सदस्य र नगर प्रमुख कलवारबीच बढेको असमझदारीका कारण सिम्रौनगढमा नगरपालिका कार्यालयमा पटक पटक तालाबन्दी हुदै आएको छ ।
















