कलैया,तेस्रो मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका शहिद बारा कलैयाका हिफाजत मियाँको स्मृतिमा देवताल गाउँपालिकास्थित एक टोलको नामाकरण गरिएको छ ।बाराको देवताल गाउँपालिका वडा नम्बर १ स्थित बड्की फूलवरिया टोलभन्दा दक्षिणपट्टी भारतको सिमासँग जोडिएको बस्तिको नाम शहिद हिफात मियाँको नामबाट नामाकरण गरिएको हो ।वडा अध्यक्ष अरुणकुमार सिंहले चैत २६ गते बसेको वडा कार्यसमिति (बोर्ड) को बैठकबाट निर्णय गराएर टोलको नाम ‘हिफाजत टोल’ नामाकरण गरिएको जानकारी दिनुभयो । भारतको सिमासँग जोडिएको उक्त टोलको कुनै नाम नभएकोले आन्दोलनमा मधेशी जनताको हक अधिकार र पहिचानका निमित्त आफ्नो ज्यानको आहूति दिने शहिद मियाँको स्मृतिमा टोलको नामाकरण गरिएको सिंहले बताउनुभयो ।२०८० वैशाख १ गतेदेखि लागू हुनेगरी टोलको नाम हिफाजत टोल राखिएको सिंहले जानकारी दिनुभयो । शहिदहरुले ज्यान दिएर मधेशी जनतालाई अधिकार दिलाए वापत उनीहरुको स्मृतिमा आफूले एउटा सानो प्रयास स्वरूप टोलको नामकारण गरेको उहाँको भनाइ छ ।२०७२ मा भएको तेस्रो मधेश आन्दोलनका क्रममा मियाँको सदरमुकाम कलैयामा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मियाँ कलैयाकै रङ्गपूरमा सइकल मर्मत गर्ने पसल खोलेर बस्दै आउनुभएको थियो ।

















