वीरगन्ज महानगरपालिकाले सडक अतिक्रमण तथा आफ्नो जग्गा अतिक्रण गर्ने विरुद्ध अभियान संचालन गरेको छ ।महानगरपालिकाको मेयरमा राजेशमान सिंह निर्वाचित भएपछि करिब एक महिनापछि पनि यो अभियान संचालनमा रहेको थियो तर त्यत्तिबेला यो अभियानले तीव्रता नपाएको देखिन्छ । फेरि महानगरपालिकाले सोमबारबाट यो अभियान संचालन गरेको छ । यो अभियान अन्तरगत अतिक्रणमा परेको केही जग्गा फिर्ता भएको पनि महानगरको दाबी छ ।हुन त कुनै पनि नयाँ जनप्रतिनिधि त्यो पदमा पुगेपछि यस्तो अभियान संचालन गर्ने गर्दछन् तर पार लगाउने कार्यमा उनीहरु चुकेकै देखिन्छ । जस्तै काठमाडौं महानगरपालिकाले पनि शुरुमा यो अभियान संचालन गरेको थियो तर बिभिन्न समस्या आएपछि स्वतन्त्रबाट उठेका मेयर त पछि हटेका छन् भने वीरगन्जको अवस्था के होला ?यो आम प्रश्न हो । मेयर पदमा पुगेकाहरुले राजनीतिक प्रतिशोधका आधारमा नभइ वास्तविक अतिक्रमणका विरुद्धमा अभियान संचालन गर्न सकेको खण्डमा भने गुमेको महानगरको जग्गा फिर्ता हुनेछ र वीरगन्जका सडक पनि अझै चौडा हुनेछ ।वीरगन्जको भित्री सडकहरु अझै पनि साँघुरो रहेकाले अथितक्रमण विरुद्धको अभियान संचालन गर्दा प्रभावकारी बनाउन भने आवश्यक देखिन्छ । यो अभियान सशक्त भएको खण्डमा मात्रै समृद्ध महानगर बनाउन सहज होला । यसको लागि जनप्रतिनिधिहरुले कुनै पनि किसिमको आग्रह÷पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष र स्वतन्त्र रुपमा काम गर्न जरुरी छ ।















