वीरगञ्ज,पर्साको जिराभवानी मन्दिरमा लागेको साउन महिनाको शुक्ल त्रयोदशीमा लाग्ने साउने मेला सम्पन्न भएको छ । हरेक वर्ष श्रावण महिनाको शुक्ल पक्षको त्रयोदशीको दिन लाग्ने मेला यो वर्षसमेत भव्यरुपले सम्पन्न भएको हो ।
मेलामा पूर्वी नवलपरासी जिल्ला र भारतको पश्चिमी चम्पारण जिल्लाको दोसाधमा पर्ने पवित्र तीर्थस्थल त्रिवेणी धामबाट जल भरेर कावरियाहरुले जिराभवानी मन्दिरका बाबा बटेश्वर नाथ बाबालाई जल चढाएका छन् ।
जिराभवानी कावरिया संघको आयोजनामा कावरियाहरुले श्रावण २६ गते घरबाट प्रस्थान गरी त्रिवेणीबाट जल भरेर पाँच दिनको कठिन पैदल यात्रापछि शनिवार बिहान गण्तव्यसम्म पुगेका हुन् । कावरियाहरुले कावरको दुई तिर जल बोकेर नाङ्गो खुट्टामा पैदल यात्रा गरी बिहान जिराभवानी मन्दिर आइपुगेका थिए ।यात्रामा जिराभवानी गाउँपालिका अन्तर्गतका सेढवा, जीतपुर, नौकाटोला, परस्वा, महादेवपट्टी, पकडीटोला, जगतिया, गम्हरिया, भवानीपुर, बसन्तपुर, काठमाण्डौटोल, हरैया, सखुवनिया, शंकरसरैया, कोढौली, सढी, सुपौली, जगरनापुर गापा अन्तर्गतका पिडारी, पिपरडाँढी तथा भारतीय गाउँ सिस्वा, धुमाटाड जसौली,रामपुर लगायतका करिब १ हजार एक सय ५० जना कावरियाहरुको सहभागिता थियो ।
कावरियाहरुले जल भरेर गण्डक नहरको भारतीय बाटो प्रयोग गरी नौवतानवा, बेलसन्ढी, सुभद्रा र धुमाटाडमा बास बसी जिराभवानी मन्दिरमा पुगेर विधिपूर्वक जल चढाएका थिए ।कावरियाहरुको स्वागत गर्न जिराभवानी गाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेका थिए । गाउँपालिकाले कावरियाहरुको लागि काँवर व्यवस्थापन, नास्ता, पानी, आराम गर्ने व्यवस्था मिलाएका थिए । त्यस्तै युवा प्रगति समाज नेपाल सेढवाका सदस्यहरुले कावरियाहरुलाई निशुल्क जुस वितरण गरेका थिए ।
















