निजगढ,बीमा कम्पनीले केरा बालीको बीमा गर्न इन्कार गरेपछि निजगढका केरा खेती गर्ने किसानहरु आन्दोलित भएका छन ।बारा जिल्ला केरा तथा फलफूल उत्पादन संघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी एक साताभित्र केराबालीको बीमा सुरु नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।जिल्लामा बाली बीमाको जिम्मा पाएको हिमालयन एभरेष्ट बीमा कम्पनीका कर्मचारीहरुले ‘माथिको आदेश’ भन्दै किसानको केरा खेतीको बीमा नगरी फर्काएपछि किसानहरु आन्दोलनमा उत्रिन बाध्य भएको संघका अध्यक्ष एकबहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।किसानहरुलाई बीमाप्रति अभिप्ररित गरेर लाभान्वित पार्ने उद्देश्य सरकारले लागू गरेको बीमा कार्यक्रमको नीति विपरित कम्पनीले बीमा गर्ने कार्य रोकेपछि निजगढका किसानहरुले भेला भएर बीमा कार्य सुचारु गराउन कृषि तथा पशुपंक्षी मन्त्रलय र बीमा प्राधिकरणमा ज्ञापन पत्र बुझाउने र एक हप्ताभित्र पनि बीमा नगरिए सडक आन्दोलनमा उत्रिने निर्णय गरेको थियो ।प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलसमेतको उपस्थितिमा गत असार २४ गते निजगढमा भएको अभिमुखीकरण कार्यक्रमपछि कम्पनीले निजगढमा केराको बीमा गर्न सुरु गरेको थियो । तर केही किसानको केरा खेतीको मात्रै बीमा गरेर बीमा कार्य रोकिएपछि किसानहरु आन्दोलित बनेका हुन ।नेपाल सरकारको प्राथमिकतामा रहेको बाली बीमा कार्यक्रम अन्तर्गत निजगढका किसानले गरेको केरा खेतीको आगामी ७ दिनभित्र बीमा सुरु नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply