राजकुमार यादव
मौलापुर,गरुडा नगरपालिकाले मागे जतिको सूचना उपलब्ध गराएपछि स्थानीय राजनीतिक कार्यकर्ता दिपक यादवले आमरण अनसन आइतवार तोडनुभएको छ । गरुडास्थित बंशिराम अनाथालयका सञ्चालक बंशिराम जयसवाल र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाको हातबाट जुस खाएपछि यादवले एक हप्ता लामो अनसन तोडनुभएको छ ।स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचन लडनुभएका दिपक यादवले माग गरेको सबै सूचना गरुडा नगरपालिकाले उपलब्ध गराएपछि यादव अनसन तोडन सहमत हुनुभएको थियो ।नगर प्रमुख पदका प्रत्याशी यादव आफूले नगरपालिकाबाट माग गरेको विभिन्न सूचना नपाएको भन्दै नगरपालिका कार्यालयअगाडि एक सातादेखि आमरण अनशनमा बस्नुभएको थियो । अनसन बसेको दिनदेखि नै गरुडाको वातावरण असहज बन्दै गएको थियो । सो अवधिमा गरुडाका स्थानीय प्रहरी र अनसन बसेका यादवका समर्थकहरु बीच पटक पटक झडप र सोही कारण सडकमा यातायातसमेत अवरुद्ध हुदै आएको थियो ।उक्त अवधिमा नगरप्रमुख कन्तमणी जयसवाल सहित स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले यादवको स्वास्थ्य अवस्थाको ख्याल गर्दै आमरण अनसन तोडन आग्रह गरेका थिए । आफनो माग पुरा नभएसम्म अनसन नतोडने अडानमा रहनुभएका यादवलाई नगरपालिकाले सूचना उपलब्ध गराएको छ ।प्रमुख प्रशासकीय अधिकृत झाले यादवले माग गरेअनुसार सबै सूचना आफूले दिएको दावी गर्नुभएको छ । आमरण अनसन तोडेपछि यादवले बैंक स्टेटमेन्ट बाहेकका अन्य सूचना मात्र पाएको बताउनुभयो । यादवले आफ्ना १२ बुँदे मागमध्ये १० वटा मात्रै पुरा भएको यादवले बताउनुभएको छ ।