मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– ४ औराहास्थित सिमरा विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले पूर्वसहमति विपरीत छ जना स्थानीय कामदार कर्मचारीलाई कामबाट अचानक निष्काशन गरेको छ ।सेजले साइट कार्यालयमा विगत १५ वर्षदेखि कार्यरत कर्मचारीहरु पूर्वसूचना विपरीत कामबाट हटाएको हो ।

निष्काशनमा परेकामध्ये अमर चौधरी, सुरेन्द्र चौधरी, महेश चौधरी, कुसुम श्रेष्ठ, बीमादेवी र जिरा श्रेष्ठ रहेका छन् । स्थानीका अनुसार सेजले स्थापनाकालमा गरेको सहमति विपरीत उनीहरुलाई कामबाट निष्काशन गरेको हो । ‘सेज स्थापना हुँदैगर्दा स्थानीयस्तरमा दुबै पक्षबीच ‘जग्गा उपलब्ध गराउनेहरूको रोजगारी सुनिश्चित’ गर्ने भएको थियो ।’ निष्काशनमा परेको मध्ये एक कर्मचारी सुरेन्द्र चौधरीले भन्नुभयो ।

‘सेजभित्रको जग्गामा खेतीकिसान गर्दै आएका थियौँ, आफ्नो भोगचलको त्यहि जग्गा दिएपछि बदलमा सेजले हामीलाई जागिर दिएको थियो । आज सहमति विपरीत अचानक कामबाट हटाइयो । औराहास्थित साविक वीरगञ्ज चिनी कारखानाबाट उद्योग मन्त्रालयको नाममा स्वमित्व हस्तान्तरण भएको सो जमिनमा स्थानीय किसानहरुले वर्षैैदेखि खेतिपाति गर्दैआएका थिए । सोही क्रममा सो क्षेत्रमा सेज स्थापना हुने भएपछि परिवारका सदस्यलाईं रोजगारी उपलब्ध गराउने सहमति भएपछि किसानहरुले जग्गाको भाग छोडेका थिए । २०६२ साल चैत २८ गते तत्कालिन उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यकोे प्रतिनिधिमार्फत स्थानीयलाई प्राथमिकतामा राखेर रोजगारी उपलब्ध गराउने सहमति भएको थियो ।
‘रोजगारी दिने सहमति भएपछि जमिन छोडका थियौं, अर्का पीडित महेश चौधरीले भन्नुभयो, तर दुःखको कुरा आज त्यो लत्याइयो ।’

निष्काशनमा परेका अर्का एक कर्मचारीले आफूहरुको आधा उमेर सेजमै बितेको बताउँदै जागिरबाट हटाइएपछि अब कहाँ जाने ? कहाँ बस्ने ? कसरी परिवारको हातमुख जोड्ने भन्ने समस्या उत्पन्न भएको बताएका छन । उनले भने, ‘यदि फेरि काममा फर्काएन भने परिवारसहित सेजको गेटमै बस्न बाध्य हुनेछौँ ।’उता सेजका कार्यालय प्रमुख पप्पु गिरीले निर्देशनअनुसार मात्रै कर्मचारी चयन र समायोजन गरिएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यो कार्यालयको स्थानीयस्तरको मात्रै निर्णय होइन । माथिल्लो निकायबाट आएको निर्देशनअनुसार प्रक्रिया अघि बढाइएको हो ।’
कर्मचारी निष्काशनको विरोधमा स्थानीयवासिन्दाहरूले पनि असन्तुष्टि जनाएका छन । सहमति विपरीत कामदार कर्मचारीहरुलाई गलत कार्य भएको उनीहरुको भनाई छ । उनीहरूले पुरानो सहमति कार्यान्वयन गर्दै निष्काशित कर्मचारीहरूको तात्कालिक पुनर्बहाली गर्न सेज कार्यालयसंग माग गरेका छन् ।

Leave a Reply