कलैया, बाराका तरकारी किसानले मंगलबार कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् । झण्डै एक सयको संख्यामा भेला भएका किसानले उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।कलैया बजारमा किसानलाई सेड उपलब्ध गराउन र नगर प्रहरीले जफत गरेको तरकारीको क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुले राखेका थिए । सेडमा ठाउँ नभएपछि कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी तथा तरकारी नगर प्रहरीले जफत गरेको उनीहरुको भनाइ छ ।जफत गरिएको तरकारी किसानलाई बेलैमा फिर्ता दिनुको साटो कुहाएको उनीहरुको गुनासो छ । यसबाट किसानलाई १ लाख भन्दा बढीको क्षति भएको अनुमान छ । उनीहरुका अनुसार नगर प्रहरीले ३ चैतमा ५० जना जति किसानले बिक्रीका लागि राखेको तरकारी जफत गरेको थियो ।कलैया उपमहानगरपालिका–८ का रोहित चौरसियाले उपमहानगरले किसानलाई क्षतिपूर्ति दिनुको साटो कुहिएको तरकारी लगेर बेच्न भनिरहेको बताए ।‘सेड व्यापारीलाई दिएका छन्, हामी किसानलाई तल राखेर तरकारी बेच्न भने, तर नगर प्रहरीले उठाएर ल्याइदियो । पहिला क्षतिपूर्ति दिन्छु भन्थे तर अहिले त्यही तरकारी लगेर बेच भनिरहेका छन्,’ उनले भने, ‘नगर प्रमुखले ७ गतेसम्म सेड खाली गरेर दिन्छु, जफत गरिएको तरकारीको क्षतिपूर्ति दिन्छु भन्थे, अहिले त त्यही कुहिएको तरकारी लगेर बेच भन्दैछन् ।’उपमहानगरले यसरी किसानलाई दुःख दिने हो भने खेतीपाती छोड्नुपर्ने अवस्था आउने उनको भनाइ छ । ‘सेडमा सबै किसानका लागि ठाउँ पुग्दैन, बिसनपुर, शीतलपुर लगायत तीन चार गाउँका किसान मिलेर बसेका थियौं । अब त त्यो पनि छैन । तल बसेर बेचौं भने नगर प्रहरीले उठाउँछ,’ उनले भने, ‘किसानले के गर्ने रु हामी खेतीपाती छोडिदिउँ ।किसानको मागको सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनी उनीहरुले दिएका छन् ।मेयर विनोद साहले समस्या समाधानका लागि वार्ता गर्ने बताएपछि प्रदर्शनमा उत्रिएका किसानहरु फर्केका छन् ।