निजगढ – निजगढ नगरपालिका ९ स्थित बकैया खोला बगरमा मंगलबार बिहान भिन्दै दृश्य देखियो । अघिल्ला दिनहरुमा जथाभावी खाल्टो खनेर गिटी बालुवा निकाल्न प्रयोग हुने एक्साभेटर र डोजर बिहानदेखि नै आफैले बगरमा बनाएका खाल्टा पुर्न र सम्याउन व्यस्त थिए ।
जिल्ला अनुगमन समितिको टोली अनुगमनमा आउन लागेको खबर पाएपछि निजगढ नगरपालिकाको निर्देशनमा व्यवसायीले खाल्टा पुरेका हुन । स्थानीय क्रसर उद्योगीका ५ थान एक्साभेटरले बिहान ६ बजेदेखि १० बजेसम्म वरिपरीको बालुवा तानेन खाल्टा पुर्ने र सम्याउने कार्य गरेका थिए ।
जथाभावी खाल्टो खनेर गिटी बालुवा र ढुङ्गा निकाल्ने कार्य बढेको गुनासो आएपछि जिल्लाका सबै खोला बगरबाट उत्खनन कार्यमा रोक लगाएर अनुगमन थालेको जिल्ला समन्वय समितिले मंगलबार निजगढको बकैया लगायत जितपुरसिमरा उपमहानगरपाकिलाका विभिन्न खोलामा स्थलगत निरीक्षण गरेको थियो ।
जथाभावी खाडल पारेर नदीजन्य पदार्थ उत्खनन गरिएका नदीहरु हेर्न गएका थियौं, अनुगमन समितिका सदस्य एंव प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले भन्नुभयो, तर बकैया खोलमा भने खाल्टा पुरेर सम्म परिएको पाइयो ।’ जभाभावी नगरिएको भन्ने देखाउन रातारात खाल्टा पुर्ने कार्य भएको हो ।
उहाले बगरका खाल्टा पुर्न कसले लगाएको थियो भन्ने बारेमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त नभएकोे पनि बताउनुभयो । निजगढ नगरापकिलाका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकालले भने कार्यालयको निर्देशनमा क्रसरको मेसिन प्रयोग गरेर खाल्टा पुर्ने काम भएको जानकारी दिनुभयो ।
मेयर सुरेश खनाल सहित जनप्रतिनिधिको उपस्थितिमा बगरका खाल्टा पुर्न पत्राचार गरेका थियौं, प्रशासकिय अधिकृत ढकालले भन्नुभयो, तर ढिला गरेर हतारहतारमा आजमात्रै पुरेका रहेछन ।’ जिल्ला अनुगमन समितिले जथाभावी उत्खनन गर्ने व्यवसायी र स्थानीय तहमाथि पनि कारवाही गर्ने चेतावनी दिएपछि नगरपालिकाले व्यवसायीहरुलाई कार्यालयमै बोलाएर गिटी बालुवा र ढुङ्गा निकाल्नेक्रममा बनेका बगरका खाल्टा पुर्न डेढ साताअघि निर्देशन दिएको थियो ।
जिल्लाका खोला बगरबाट मापदण्ड विपरित उत्खनन भइरहेको गुनासो बढेपछि अनुगमन समितिले तत्कालको लागि जिल्लाका सबै खोला बगरमा उत्खनन रोक लगाएर अनुगमन थालेको छ । अनुगमन कार्य जारी रहेको भन्दै प्रजिअ पोखरेलले रोक लगाइएको समयमा पनि उत्खनन मापदण्ड विपरित काम भइरहेको बताउनभुयो ।
उहाले अनुगमन सकिएपछि संवन्धित स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर नियमअनुसार मात्र उत्खनन गर्न आवश्यक निर्देशन दिने तयारी गरेको पनि जानकारी दिनुभयो । जिल्लाको निजगढ र कोल्हवी नगरपालिकामा पर्ने बकैया तथा धन्सार र जितपुरसिमरा उपमहानगरपालिकाको पसाहा, दुधौरा र वालगंगा नदीमा मापदण्ड विपरित उत्खनन हुदै आएको छ ।
नगरपालिकाले तयार पारेको इअइए प्रतिवेदनमा घरेलु साधनको मात्र प्रयोग गरेर उत्खनन गर्नु पर्ने र त्यसमा पनि ३ फिटभन्दा बढी गहिराईमा खन्न नपाउने व्यवस्था गरेको छ । तर गिटी बालुको ठेक्का सकारेका व्यवसायीले ठुला उपकरणको प्रयोग गरेर मापदण्डा विपरित १० फिट र ४० मिटर चौडाइसम्मका ठुलाठुला खाल्टा बनाएर बगरबाट जथाभावी गिटी, बालुवा र ढुङ्गा निकाल्दा पनि नगरपालिकाहरुले कुनै चासो नदेखाएको गुनासो छ ।