नरेश गुप्ता
बरियारपुर,गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द नेपालीसहित मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतोले बाराको बरियारपुरस्थित बिश्व प्रसिद्ध गढीमाई मन्दिरको आइतवार साँझ अवलोकन गर्नुभएको छ ।
मधेस प्रदेशका विभिन्न जिल्लाका पर्यटकीय स्थलको भ्रमण गर्ने क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शक्ति पिठगढीमाईको दर्शन गर्नुको साथै मन्दिरको भौतिक संरचनाको निरीक्षण गर्नु भएको थियो ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित ऐतिहासिक गढीमाई मन्दिरमा मुख्यमन्त्री पोखखरेलको नगर प्रमुख उपेन्द्रप्रसाद यादव, उपप्रमुख तारा देबी कानुले स्वागत गर्नु भएको थियो । गढीमाई मन्दिर प्राङ्गणमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले गढीमाई शक्तिपिठको भौतिक पूर्वाधारको विकास हुनु पर्नेमा जोड दिनु भएको थियो ।
धार्मिक र पर्यटकीय स्थलको रुपमा विश्वमा पहिचान बनाएको शक्तिपिठ गढीमाईको विकासको लागि मधेस प्रदेशका पर्यटनमन्त्री महतोले आफूले यसलाई प्राथमिकतामा राखेको बताउनुभयो । मधेस प्रदेश अन्तर्गत पर्ने गढीमाईसहित सिम्रौनगढको कंकाली मन्दिर, सर्लाहीस्थित भरत ताल, अमलेखगंजको हात्तिसार लगायतका क्षेत्रको विकास तथा पुरातात्विक सम्पदाहरुको संरक्षणको लागि प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।