आरके राजन

सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकाकामा कार्यपालिका सदस्यहरुले गरेको तालबान्दी मंगलवार पनि जारी रहेको छ । तालाबन्दी खोल्ने विषयमा ठोस पहल हुन नसकेपछि ३ दिनअघि भएको तालाबन्दी अझै खुल्न नसकेको हो ।नगर प्रमुख किशोरीप्रसाद कलवारले कार्यपालिका बोर्ड बैठक तथा नगर सभाको निर्णय अनुसार कार्य सञ्चालन नगरेको भन्दै कार्यपालिकाका बहुमत सदस्यहरुले गत आइतवार नगर प्रमुख कलवार, नगर उपप्रमुख नजमु शेयर, प्रमुख प्रशासकीय अधिृकत दिनेश न्यौपानेको कार्यकक्ष सहित कार्यालयको योजना तथा जिन्सी शाखामा तालाबन्दी गरेका थिए । नगरपालिकाका रहेका २१ जना कार्यपालिका सदस्यमध्ये १६ जनाको टोलीले संयुक्तरुपमा कार्यालयका विभिन्न शाखामा ताला लगाएको हो । आफूहरुले राखेको माग शंवोधन गर्ने बारेमा कतैबाट पनि कुनै किसिमको पहल नभएकोले तालाबन्दी जारी राख्नुपरेको सिम्रौनगगढ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एजुलाह अन्सारीले बताउनुभयो । नगर प्रमुख कलवारले बोर्ड बैठकको निणर्यअनुसार काम गर्ने प्रतिबद्धता नजनाएसम्म तालाबन्दी जारी राखिने उहाँले बताउनुभयो । त्यसैगरी अर्का वडा अध्यक्ष अवदेश सहनीले पनि कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयन नहुँदासम्म कार्यलयमा लगाइएको ताला नखोलिने बताउनुभएको छ । नगर प्रमुख कलवारले भने आफूले नगर सभा र कार्यपालिकाबाट भएको निर्णय अनुसार सबै काम गर्दै आएकोले कार्यपालिका सदस्यहरुले तालाबन्दी गर्नुको औचित्य नभएको बताउनुभएको छ । ‘सबै काम कार्यपालिका बैठकको निर्णय अनुसार नै भएको छ, उहाँले भन्नुभयो, तर कार्यपालिका सदस्यहरुलाई के कुरामा असमझदारी भएको हो, बुझ्न सकेको छैन ।’ उहाँले कमिकमजोरी भएको भए आफू बसेर कुरा गर्न तत्पर रहेको तर कार्यालयमा तालाबन्दी गरेर मात्रै समस्याको समाधान नहुने पनि उहाँले बताउनुभयो ।सिम्रौनगढ नगरपालिकामा कार्यपालिका सदस्य र नगर प्रमुख कलवारबीच बढेको असमझदारीका कारण नगरपालिका कार्यालयमा यसअघि पनि २ पटक तालाबन्दी भएको थियो ।

















