काठमाडौं,नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।शुक्रवार र शनीवार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले जानकारी दिनुभयो ।

‘विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ । त्यसभित्रका महत्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं,’ गौतमले भन्नुभयो ।
पोलिटब्युरो बैठकमा ६८ जना सदस्यले धारणा राखेको पनि गौतमले जानकारी दिनुभयो ।
विद्या भण्डारीको पार्टी सदस्यता पेन्डिङ्गमा
काठमाडौं,नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेन्डिङ (स्थगित) अवस्थामा रहेको बताउनुभएको छ ।पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा गौतमले भण्डारीको सदस्यता नवीकरणबारे छलफल हुने बताउनुभएको हो ।

‘अहिले नवीकरण पेन्डिङ अवस्थामा छ । धारा ८ र ९ आकर्षित भयो भनेपछि त्यो जहाँ छ, स्थगन अवस्थामा छ भन्ने बुझिन्छ’, उहाँले भन्नुभएको छ ।भण्डारीले राष्ट्रपति हुनलाई पार्टी सदस्यता त्यागेकाले नवीकरणबारे आवश्यक निर्णय गर्नुपर्ने गौतमले बताउनुभयो ।

‘विभिन्न कोणबाट छलफल भएको छ । निष्कर्षमा पुगेको छैन । अर्को फोरममा निष्कर्षमा पुग्छौ’ उहाँले भन्नुभयो, ‘स्वच्छाले राजीनामा गरेको व्यक्तिले पार्टीमा पुन आउने कुरा वा पार्टीले खटाएको व्यक्ति पुन आउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । उचित समयमा पार्टीले आवश्यक निर्णय लिन्छ ।’

Leave a Reply