निजगढ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले मधेस प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गरेर जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
त्यसैगरी पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको भन्दै बारा जिल्लाका तत्कालिन जिल्ला अध्यक्ष चन्दन स्वर्णकारलगायत जिल्ला कार्यसमितिका ११ जना पदाधिकारीहरूको सदस्यता पनि खारेज गर्ने निर्णय भएको छ । गत निर्वाचनमा पार्टीलाई असहयोग गरेकोभन्दै स्वर्णकारलगायत जिल्ला समितिका प दाधिकारीहरुलाई रास्वपाले निलम्बन गरेको थियो ।
यस्तै, बैठकले रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्नेगरी मिति तय गरेको छ । बैठकले जेठको ३ र १६ गते दुई चरणमा हुने गरी वडा अधिवेशनको मिति टुंगो लगाएको हो । पालिका अधिवेशन जेठ १० र जेठ १७ गते गर्ने गरी मिति तय गरिएको छ ।
वैशाख २० अघि समिति गठन भएका वडामा जेठ ३ गते अधिवेशन हुनेछ भने जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानमा १६ जेठमा वडा अधिवेशन गर्ने भएको छ ।


















