धिरेन्द्र तिवारी
कलैया,अवैधरुपमा औषधि बिक्री गरेको आरोपमा कलैयास्थित आशिष औषधि पसल र एसके सप्लायर्समा बिहिवार प्रहरीले छापामारी गरेको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको आशिष मेडिकल हल र वडा नम्बर ६ मा रहेको एस के सप्लायर्सले नेपाल सरकारबाट निशुल्क उपलब्ध हुने औषधि बिक्री गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय बारा र कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखाको अनुगमन टोलीले संयुक्त रुपमा छापामारी गरेको हो । जिल्ला प्रहरी कार्यालयको क्राईम शाखाका प्रहरी सहायक निरीक्षक रवि साहको नेतृत्वमा गएको संयुक्त टोली दिउँसो ३ बजे औषधि पसल र सप्लायर्समा छापामारी गरेको थियो ।छापामारीको क्रममा मेडिकल हलबाट नेपाल सरकारबाट निशुल्क वितरणको लागि स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिएको बेटाडिन ४५० ग्रामको २ बोतल र एस के सप्लायर्सबाट ४५० ग्रामको ३० बोतल बेटाडिन बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी गराउनुभएको छ ।आशिष मेडिकल हालका संचालक आशिष साह र एस के सप्लायर्सका संचालक सरोज करणलाई अनुसन्धानका जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको प्रवक्ता थापाले जानकारी गराउनुभएको छ ।


















