वीरगन्ज,पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहसँग वीरगन्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यहरुले बिहीवार एक कार्यक्रमका बीच भेटघाट तथा छलफल गरेका छन् ।वीउवासंघले आफनै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले वीरगन्ज उद्योग वाणिज्य सङ्घको ऐतिहासिक पृष्ठभूमि र यस क्षेत्रको औद्योगिक, व्यापारिक महत्व तथा उपादेयका बारे प्रकाश पार्नुभएको थियो ।डा. गुप्ताले खुल्ला बोर्डर अवसर र चुनौती दुवै भएकोले शान्ति सुरक्षा, तस्करी नियन्त्रणमा प्रहरीले सघन भूमिका निर्वाह गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराउनु भएको थियो । सङ्घले आफ्नै सक्रियतामा सञ्चालन गरेको सिसिटिभी परियोजनाको व्यवस्थापन र विस्तारमा समेत सहकार्य गर्न प्रहरी उपरीक्षकलाई अवगत गराउँदै औद्योगिक सुरक्षा बलको पुनः स्थापनामा सबैको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।प्रहरी उपरीक्षक शाहले अध्यक्ष गुप्ताबाट व्यक्त भएका चासोलाई आफ्नो कार्यकालमा सक्रियताका साथ इमान्दारितापूर्वक सम्पादन गर्नेतर्फ प्रयत्नशील रहने बताउनुभएको थियो । उहाँले अवैध व्यापारलाई निरुत्साहित तथा चोरी निकासी पैठारीलाई नियन्त्रण गर्ने पनि बताउनुभयो ।सोही अवसरमा राष्ट्रिय अनुसन्धान कार्यालय, पर्साका उपनिर्देशक दीपक खड्काको बिदाई समेत गरिएको थियो । बिदाई समारोहमा उपनिर्देशक खड्काले वीरगन्ज उद्योग वाणिज्य सङ्घले गरेको माया र सदभाव आफू कहिले पनि बिर्सन नसक्ने बताउनुभयो । उहाँले सामाजिक विकासको लागि वीउवासले निर्वाह गर्दै आएको भूमिका सराह्नीय रहेको बताउँदै आगामी दिनहरुमा समेत एक आपसबीचको सम्बन्ध अझै प्रगाढ हुने धारणा राख्नुभयो ।कार्यक्रममा वीउवासङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्षद्वय अशोककुमार टेमानी र अशोककुमार वैध, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव अनोज रुँगटा लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।




















