कलैया,बारा प्रहरीले लागूऔषध खैरो ब्राउन सुगरसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत २ का ट्याक्टर चालक ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटिएको प्रहरी टोलीले फेटा गाँउपालिका ३ चौतारास्थित घोडासाहनबाट फेटातर्फ आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकेर जाँच गर्दा ट्याङ्कीभित्र प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध खैरो ब्राउन सुगर बरामद भएको हो ।बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उक्त ट्याक्टरबाट १५८ ग्राम ९१० मिलिग्राम खैरो ब्राउन सुगर फेला परेको हो ।
लागु औषधसहित निजगढबाट ५ जना पक्राउ
निजगढ,इलाका प्रहरी कार्यालय निजगढले लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।प्रहरीले निजगढ ९ स्थित पूर्वपश्चिम राजमार्गको भमरापुल नजिकबाट ३ जना र निजगढ ८ बाट २ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले राजमार्गको भमरा खोला पुल नजिकबाट निजगढ ६ भमरा टोल बस्ने चित्रबहादुर राउतको छोरा अन्दाजी वर्ष ३० को अमृत राउत, निजगढ ७ लच्का टोल बस्ने बिमल पौडेलको छोरा वर्ष २० को उदयकुमार पौडेल र सोही ठाउँ बस्ने जित सिंह लामाको छोरा वर्ष १६ को सोयम लामालाई नुर्फिन– ३० पिस, फेनार्गन –३० पिस, डाईजोपम– ३० पिस, सपामो –१० पिस, ट्रामाडोल–१० पिस, नाईट्रोजोपन–१० पिस र सिरिन्ज– १ पिससहित नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालयका निरीक्षक सुमित कुशवाहाले दिएको जानकारी अनुसार रौतहटको जङगलसहियाबाट म. प्र. ०३–०२७ प ४७०४ नम्बरको स्कुटी डो¥याएर संगै आउदै गरेको अवस्थामा बरिष्ठ हबल्दार बिनोद साह कानुको कमाण्ड इप्रका निजगढबाट खटिएको टोलिले स्कुटीको डिक्किमा लुकाईछिपाई राखेको अवस्थामा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
त्यसैगरी निजगढ प्रहरीले निजगढ ८ तेक्वाण्डो कभड हल नजिकबाट ५ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । पथलैयाबाट निजगढतर्फ आउदै गरेको म.प्र.०३–०३० प २९६१ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कटी चालक निजगढ ८ बकैया टोल बस्ने अन्दाजी वर्ष ३४ को कमल केसी र सोही स्कुटीमा पछाडि सवार निजगढ ९ बकैया बस्ने अन्दाजी बर्ष ४३ को राम गोपाल श्रेष्ठले बोकेको झोलामा ब्राउन सुगर फेला पारी आवश्यक कारबाहीको लागि जिल्ला अदालत बाराबाट १० दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको निजगढ प्रहरीले जनाएको छ ।त्यस्तै निजगढ प्रहरीले एकजना फरार प्रतिवादीलाई बुधवार पक्राउ गरेको छ । प्रहरीले लागु औषध मुद्दामा जिल्ला अदालत बाराबाट दोषि भएका रौतहट चन्द्रपुर ३ भोलनटार बस्ने हर्कबहादुर घिसिङको छोरा अन्दाजी बर्ष ६४ को सोमबहादुर घिसिङलाई पक्राउ गरेको हो ।
















