नरेश गुप्ता
बरियारपुर,बारा जिल्लामा २४ जना तेस्रोलिङ्गी सहित १ सय ५१ जना एच आई भि संक्रमित रहेको एक तथ्यांकले देखाएको छ ।
संक्रमित मध्ये १ महिला र ४ जना पुरुष गरि ५ जनाको मृत्यु भइसकेको प्रादेशिक अस्पताल कलैया अन्तर्गतको एच आई भि फाँटले जानकारी गराएको छ । प्रादेशिक अस्पताल कलैयाको सम्पर्कमा आएका एच आई भि संक्रमितहरुलाई निशुल्क रगत चेकजाँच र औषधि वितरण गर्दै आएको एच आई भि फाँटका कमलेशकुमार यादवले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७८÷०७९ को फाल्गुन मसान्तसम्ममा बारामा एच आई भि संक्रमित तेस्रोलिङ्गी २४ जना, महिला ४२ जना, पुरुष ८० जना, बालबालिका ३ जना तथा चैत्र महिनामा २ जना गरि जम्मा १ सय ५१ जना एच आई भि संक्रमितहरु रहेका छन ।
एच आई भि संक्रमितहरुको संख्या बढ्दै गएकोले महिला, पुरुष, तेस्रोलिङ्गी सबैले सवधानी अपनाउनुपर्ने देखिएको बताइएकोछ । बारामा एच आई भि संक्रमित रोगीहरुलाई जाँचबुझ गर्दा उनीहरु बिना कण्डम बाहिर अन्य महिलासंग यौन सम्पर्क गरेर एच आई भि संक्रमित भएपछि श्रीमती तथा बालबालिकामा समेत सारिएको पाइएको एच आई भि फाँट कलैयाको कमलेश यादवले जानकारी दिनुभयो ।
एच आई भि यौन सम्पर्कबाट सर्ने रोग भएपनि संक्रमितलाई समाजमा घृणाको दृष्टिकोणले हेर्ने गरिएको छ । एच आई संक्रमितलाई समाज तथा परिवारले माया र राम्रो व्यवहार गर्नुपर्ने प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट गौरव महतोले जानकारी दिनुभयो । एच आई संक्रमितहरुले नियमित चेकजाँच गराउने गरिएको तथा औषधि निशुल्क वितरण गर्ने गरिएको प्रादेशिक अस्पताल कलैयाले जनाएको छ ।