निजगढ,नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ खारेज गर्नुपर्ने माग राख्दै निजगढ नगरपालिकामा मंगलबार उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उद्योगी तथा व्यवसायी आवद्ध संघ निजगढ नगर उद्योग वाणिज्य संघले मार्गदर्शन खारेजीको मागसहित विरोध प्रदर्शन गरेका हुन् ।निजगढस्थित शहिद चोकबाट सुरु भएको व्यवसायीहरुको प्रदर्शन राजमार्ग हुदै बुद्धचोक परिक्रमा पछि शहिद चोकमा आएर कोण सभामा परिणत भएको थियो ।व्यवसायीले ‘करदाताको रक्षा गर’, ‘गरि खान देउ’ लगायतको प्लेकार्डसहित निजगढमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा निजगढका सयौं व्यवसायी सहभागी रहेका थिए ।कोण सभामा बोल्दै पर्यटन व्यवसायी युवराज लामाले उद्योगी व्यवसायीहरुले राखेका माग पूरा नगरेका कारण आन्दोलनमा उत्रिन बाध्य भएको बताउदै कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरु राष्ट्र बैङ्कको चर्को ब्याजदरले थप समस्यामा परेको बताउनुभयो । उहाँले चर्को बैंक ब्याजदर घटाउन सरकारसंग माग समेत गर्नुभयो ।निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बैंकले उद्योगी व्यवसायीलाई मानसिक यातना दिइ घरघरमा आतंक सिर्जना गरेको बताउँदै बैंकले आतंक सिर्जना गर्ने कार्य गरेको र यस्तो कार्य नरोके बैंकमा तालाबन्दी गर्न बाध्य हुने चेतावनी दिनुभयो । उहाँले उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न र बजारलाई चलायमान गराउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गर्नुकासाथै उद्योगी व्यवसायीले गरेको आन्दोलनमा आम नागरिकले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।बैंकको ब्याजदर एकल अंक कायम गर्नुपर्ने, चालू पूँजी कर्जाको नीति संशोधन गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ज्यादती रोक्नुपर्ने लगायतका माग राखेर उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । सरकार माग पूरा हुनेमा समेत उद्योगी व्यवसायी आशावादी देखिएका छन् । नयाँ सरकारले आफूहरुका माग सम्बोधन गर्नेमा आशावादी रहेको उनीहरुको भनाइ थियो ।राष्ट्र बैंकले कार्तिक १ गतेदेखी लागु हुने गरी चालु पूँजी कर्जा मार्गदर्शन २०७९ जारी गरेको थियो । उक्त मार्गदर्शनले बैंक तथा वित्तिय संस्थालाई चालुपुँजी कर्जामा नयाँ व्यवस्था लागु गरेको छ ।उद्योगी व्यवसायीले भने उक्त व्यवस्थाका कारण व्यापार व्यवसाय झन धरासायी बन्ने र मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा पुग्ने बताउदै आएका छन् । मुलुकको अर्थतन्त्र उकास्न र उद्योग तथा व्यवसाय धरासायी हुन नदिन मार्गदर्शन तत्कालका लागि भएपनि खारेज गर्नुपर्ने माग राखेका छन् ।

Leave a Reply