वीरगञ्ज,वीरगञ्जसहति देशभरका उद्योगी, व्यवसायी भन्सार विभागद्वारा जारी लेबलिङ सम्बन्धी प्रावधानको विरोधमा उत्रेका छन् ।व्यवसायीहरूले भन्सार विभागद्वारा जारी गरिएको लेबलिङ सम्बन्धी सूचनालाई अस्पष्ट र अव्यवहारिक भनेर विरोध जनाउँदै तत्काल लागू नगर्न माग गरेका हुन् ।वीरगञ्ज उद्योग वाणिज्य सङ्घसहित सीमा क्षेत्रसँग जोडिएका सहरहरूमा अवस्थित उद्योगी तथा व्यवसायीहरूको चार वटा छाता सङ्गठन मोरङ व्यापार सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले एउटा संयुक्त प्रेस विज्ञप्ति निकालेर भन्सार विभागद्वारा गत असार २२ गते जारी भएको “लेबल लगाउने सम्बन्धी सूचना” का कारण व्यवसायीहरूमा अन्योल र एक किसिमको त्रासको वातावरण सृजना भएको जनाउँदै तत्काल लागू नगर्न माग गरेका छन् ।“२०८० साउन १ गतेदेखि लेबलिङ कार्यान्वयनमा ल्याउने भनी जारी अस्पष्ट र अव्यवहारिक सूचनाका कारण आयात तथा आन्तरिक व्यापार नै नराम्री प्रभावित हुन पुगेको छ । भन्सार विभागद्वारा जारी सूचना आफैमा अस्पष्ट त छँदै छ, सँगसँगै स्पष्ट पार्ने सरोकारवाला निकाय पनि लेबलिङ बारे प्रस्ट छैनन् । यसर्थ लेबलिङ सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था र निर्देशिका जारी नभएसम्म लेबलिङ लगाउने प्रावधान स्थगित गर्नुपर्ने तर्फ सङ्घ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ,” संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।




















