काठमाडौं । सेयर बजारमा अधिकांश कम्पनीको मूल्य घटे पनि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से २.२६ अंकले बढेर २ हजार ६२३ अंकमा पुगेको हो।
सोमबार कारोबार भएका २८० कम्पनीमध्ये १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने १०५ कम्पनीको मूल्य बढेको छ। १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन।
धेरै कम्पनीको सेयर मूल्य घटे पनि बजार पूँजीकरणका आधारमा बढी प्रभाव पार्ने कम्पनीहरूको मूल्यमा आएको वृद्धिले समग्र नेप्से परिसूचकलाई सकारात्मक बनाएको हो। यसअघि शुक्रबार नेप्से ७.३८ अंकले घटेको थियो।
सोमबार कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। अघिल्लो दिन ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ३ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ।
समूहगत परिसूचकतर्फ बैंकिङ समूहले बजार वृद्धिमा सबैभन्दा बढी योगदान दिएको छ। बैंकिङ समूह ०.६५ प्रतिशतले बढेको छ। त्यस्तै विकास बैंक ०.५७, लगानी ०.२३ र अन्य समूह ०.८१ प्रतिशतले उकालो लागेका छन्।
यता फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२२, जलविद्युत् ०.२८, जीवन बीमा ०.०६, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.६२, निर्जीवन बीमा ०.९६ र व्यापार समूह ०.६३ प्रतिशतले घटेका छन्।
सोमबार मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १०.५८ प्रतिशतले बढेको छ। माउन्टेन हाइड्रो नेपालको ५.६२, बुंगल हाइड्रोको ५.४९, रावा इनर्जीको ३.८३ र सिनर्जी पावरको ३.१२ प्रतिशतले मूल्य वृद्धि भएको छ।
यसको विपरीत भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशतले घटेको छ। स्वस्तिक लघुवित्तको ५.७१, नेपाल वेयरहाउजिङको ५.०३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.०६ र सुपर खुदी हाइड्रोपावरको ३.८५ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, भिजन लुम्बिनी ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स र पिपुल्स हाइड्रोपावर अगाडि रहेका छन्।















