सेढवा,मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पर्सामा नमूना मतदान गरिएको छ । मतदाता शिक्षाका लागि ठोरी गाउँपालिकाको कार्यालय घ्याङडाँडामा नमूना मतदान गरिएको हो ।जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा सहभागी मतदाताले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जस्तै प्रत्यक्ष र समानुपातिकतर्फ गरी ४ वटा ब्यालेट पेपर लिएर ४ ठाउँमा मतदान गरेका थिए ।
मतदाता शिक्षा दिनुका साथै मत बदर हुने अवस्थाको बारेमा बुझ्न नमूना मतदानको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो ।सुरक्षा व्यवस्था सहित वास्तविक निर्वाचनको झल्को दिने गरी सम्पन्न नमूना मतदानको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत पर्साका सबै सुरक्षा निकायका प्रमुख सहितको टोलीले अनुगमन गरेको थियो ।
पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तरगत पर्ने ठोरीमा मंसिर ४ गते हुने निर्वाचनका लागि ७ ओटा मतदान स्थल र १७ ओटा मतदान केन्द्र तोकिएका छन् ।