कृष्ण मोहन साह
सेढवा,साविक सुवर्णपुर गाविसका प्रधानपञ्च भरतकुमार घिमिरेको स्मृतिमा ज्ञानवाटिका माविमा अक्षयकोष स्थापना भएको छ । पूर्वविद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका घिमिरेको योगदानलाई कदर गर्दै सो विद्यालयका पूर्व विद्यार्थी डा. पितृराज अधिकारीले बुधबार रु ५० हजार राशिको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गर्नुभएको हो ।ठोरी गाउँपालिका– ५, सुवर्णपुरमा रहेको सो विद्यालयमा अक्षयकोष स्थापना पश्चात् कार्यविधि बनाएर व्याजको रकमबाट विपन्न तथा जेहेन्दार विद्यार्थी लक्षित कार्यक्रम गरिने विद्यालय व्यस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर नेवारले जानकारी दिनुभयो ।

हाल शंकरदेव क्याम्पस काठमाडौंमा उपप्राध्यापक पदमा कार्यरत डा . अधिकारीले स्व. घिमिरेकै अग्रसरतामा माध्यमिक विद्यालय सन्चालन भई आफुहरुले उच्च शिक्षा पढ्न पाउने अवसर प्राप्त गरेको स्मरण गर्दै घिमिरेकै ज्येष्ठ सुपुत्रीको संरक्षकत्वमा रहने गरी अक्षयकोष स्थापनाका निमित्त सहयोग गर्नुभएको हो ।डा. अधिकारीले वि. सं. २०४९ सालमा सो विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । स्व. घिमिरेले वि. सं. २०४३ देखि २०४९ सम्म २ कार्यकाल र २०६५ देखि २०६८ सम्म १ कार्यकाल गरी ३ कार्यकाल विद्यालय व्यवस्थापन समिति अध्यक्षको रुपमा नेतृत्व गर्नुभएको थियो ।
यस्तै बुधबार नै सो विद्यालयका पहिलो एसएलसी ब्याचका विद्यार्थीले विद्यालयको प्रत्यक्ष अवलोकन गर्दै विद्यालयको निमित्त सहयोग गर्ने घोषणा गरेका छन् । वि. सं. २०४७ सालको पहिलो एसएलसी ब्याचका विद्यार्थीहरुले विद्यालयमा उपस्थित भएर विगतका अनुभूतिहरु सम्झदैं विद्यालयको विकासमा सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सो ब्याचका तर्फबाट हाल मानव अधिकार आयोगका उपसचिव समेत रहनुभएका लोकनाथ बास्तोलाले विगतका असजिला र अप्ठ्यारा दिनहरुको स्मरण गर्दै आफ्नो ब्याचको तर्फबाट विद्यालयलाई सहयोग गर्ने अभियानको थालनी गर्ने उद्घोष गर्नुभयो । सो अवसरमा पहिलो वर्षको एसएलसीमा सहभागी १३ जना मध्ये १२ जनाको सहभागितामा विद्यालयको लागि सहयोगको थालनी गर्न लागिएको जानकारी गराइएको थियो ।सो अवसरमा विद्यालयको ऐतिहासिक पहिलो ब्याचका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेवार, विव्यस सदस्य बिमल खड्का, प्रधानाध्यापक बिर्जुप्रसाद चौधरीलगायतले स्वागत गर्नुभएको थियो ।


















