काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरूलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त बनाउने विभिन्न विषयमा ३० बुँदे निर्देशन दिनुभएको छ ।मङ्गलवार सिंहदरबारमा मन्त्रालयका सचिवहरूसँग सम्पन्न बैठकमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवा प्रवाह तथा जनजीविकासँग जोडिएका विषयमा निर्देशन दिनुभएको हो । यसअघि हिजो सोमवार सबै मन्त्रालय तथा मंगलवार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय एवम् विभिन्न संवैधानिक आयोग र निकायका सचिवहरूले प्रगति विवरण, समस्या तथा चुनौती प्रस्तुत गरेका थिए ।सचिवहरूबाट कार्यप्रगति प्रस्तुतिपछि निर्देशनात्मक सम्बेधन गर्दै प्रधानमन्त्री प्रचण्डले निजामती प्रशासन र सरकारी संयन्त्रबाट विगतको कार्यकाल झैँ यस पटक पनि पूर्ण सहयोग पाइने बताउनुभयो । उहाँले ठूला नीतिगत र दीर्घकालीन विषयहरूभन्दा पनि नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाहका विषयहरू, विकास निर्माण र आयोजना सञ्चालनका विषयहरूमा सम्बोधन केन्द्रित गर्नुभयो ।प्रधानमन्त्रीले मुख्यरूपमा आम नागरिकले सेवा प्रवाहमा भोग्नुपरेको सास्तीका विषयमा चासो राख्दै निर्देशन दिनुभयो । सङ्घीताको अभ्याससँगै घरदैलोमा नै सेवा पुग्ने जनअपेक्षा पूरा हुन नसकेको बताउँदै उहाँले नागरिकले आशा गरेअनुरूप विगत पाँच वर्षको कार्यसम्पादन सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो ।सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।




















