काठमाण्डौ – नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले सोमवार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग मन्त्री पदको शपथ लिनुभएको छ ।

तीनै जनाको मन्त्रालय भने तोकिएको छैन । विशेष गरेर गृह मन्त्रालयमा एमाले र रास्वपा दुवैको दाबी रहेको छ । यस्तै एमाले र माओवादीबीच केन्द्रदेखि प्रदेशसम्मका सरकारमा सहकार्य गरेर जाने सहमति भएको छ । अब केन्द्रसँगै विभिन्न प्रदेशमा पनि सरकार फेरिने सम्भावना बढेको छ । केन्द्रमा भने आधा–आधा समय सरकारको नेतृत्व गर्ने एमाले र माओवादीले सहमति गरेका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ । माओवादीले नेपाली कांग्रेससँगको गठबन्धन नगर्ने निधो गरेपछि अहिलेको गठबन्धन ढलेको हो । अब नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर नयाँ गठबन्धन बनेको छ ।

यस्तै नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसबाट बनेका सबै मन्त्रीलाई हटाउनुभएको छ । प्रचण्डले आइतवार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर नयाँ गठबन्धन बनाएको र मन्त्रीहरू हटाएको जानकारी दिनुभएको थियो ।
यसैबीच नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ ।
कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव रहेका रहनुभएको छ । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुङ्गो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने छ ।

Leave a Reply