वीरगञ्ज,वीरगञ्जमा गएको शुक्रवार साँझ फेला परेको हैजाको संक्रमण पछिल्लो समय फैलिँदै गएको छ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलवार साँझ ६ बजेसम्म ९३ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन्। पछिल्लो परीक्षण रिपोर्ट अनुसार एक सय १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।
वीरगञ्जका विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैजा पुष्टि भएका गरेर १९९ जना बिरामी उपचाररत छन्। वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी नारायणी अस्पतालमा १०७, नेसनल मेडिकल कलेजमा १८, तराई अस्पतालमा ३७ र वीरगञ्ज हेल्थकेयरमा १९ जना बिरामी उपचाररत छन् ।
सर्वोत्तम अस्पतालमा ७, एडभान्स मेडिकेयर अस्पतालमा ३, प्रभु अस्पतालमा १, निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा २ र नारायणी सेन्टर अस्पतालमा ३ जना बिरामी उपचाररत छन्।अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला लागेर उपचारका लागि भर्ना भएका बिरामीको संख्या चार सय २२ पुगेको छ। जसमध्ये उपचार गराएर दुई सय २३ जना डिस्चार्ज हुँदा एक सय ९९ जना उपचाररत छन्।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार नारायणी अस्पतालमा ४३, तराई अस्पतालमा ३८, नेसनलमेडिकल कलेजमा १५, भवानी अस्पताल, वीरगञ्ज हेल्थ्यकेयर अस्पताल, मंगलम प्याथोलोजीमा ३-३, अलि अर्थो अस्पताल र एडभान्स मेडिकेयर अस्पतालमा २÷२, सर्वोत्तम अस्पताल, नारायणी सेन्ट्रल अस्पताल, नेपाल इण्डो अस्पताल, निलकण्ठ अस्पताल र बयोधा अस्पतालमा एकएक जना झाडापखाला लागेर भर्ना भएका बिरामीमा हैजा पुष्टि भएको छ।
विद्यालय थप तीन दिनका लागि बन्द
वीरगञ्ज,हैजा फैलिएपछि पर्साको वीरगन्ज महानगरपालिकाले आफू मातहतका सबै विद्यालयहरु थप तीन दिनका लागि बन्द गरेको छ । मंगलवार बसेको नगरप्रमुस्तरीय बैठकले बुधवारदेखि शुक्रवारसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि दुई दिनका लागि विद्यालय बन्द गरिएका थिए । बैठकले विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट हैजाको आशङ्कामा पठाएका बिरामीको नमुना परीक्षण गर्दा १० मध्ये आठ वटामा हैजाको सङ्क्रमण पुष्टि गरेको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले मंगलवार बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार वीरगञ्ज महानगरपालिकामा गएको शुक्रवारयता झाडापखालाका तीन सय ९१ जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये ९५ जनामा हैजा पुष्टि भएको छ ।


















