गोकुल घोरसाइने
बारा,विशेष भेलमा विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिको तदर्थ समिति गठन नगरी वडा र पालिकाको अधिवेशन गर्ने निर्णय गरेको छ ।शनिबार कलैयामा आयोजना गरिएको पार्टीको विस्तारित बैठकमा विवाद र होहल्ला भएपछि जिल्ला तदर्थ समिति गठन नै नगरी रास्वपाले वडा र पालिकाको अधिवेशन गर्ने निर्णय गरिएको हो ।
भेलामा जिल्ला तदर्थ समिति गठन गर्ने कार्यतालिका थियो । तर पूर्वसभापति चन्दन स्वार्णकारलाई निलम्बन गरेको विषयलाई लिएर कार्यकर्ताहरुले होहल्ला र विवाद गरेपछि निर्धारित कार्यतालिकाअनुसार निर्णय हुन नसकेको बताइएको छ । भेलाले हालको लागि जिल्ला तदर्थ समिति गठन नगरी वडा र पालिका अधिवेशनमा लाग्ने निर्णय गरिएको रास्वपाले जनाएको छ । वडा र पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको हो ।

पालिका अधिवेशन जेठ १७ गतेका लागि तोकिएको छ भने तदर्थ समिति गठन भएका वडाको अधिवेशन जेठ १२ गते र गठन हुन बाँकी रहेका पालिकाको तदर्थ समिति १३ गते गर्ने निर्णय गरिएको छ । वडा-पालिका समिति गठन गर्न ५ जना प्रतिनिधि खटाउने निर्णय पनि गरिएको जनाइएको छ । अघिल्लो जिल्ला समिति भंग गरिएपछि केन्द्रीय तहका नेताहरुको उपस्थितिमा भएको भेला सुरु हुने बित्तिकै सहभागीहरुले संस्थापक सभापती स्वर्णकारमाथि गरिएको कारबाही र जिल्ला समिति भङ्ग गर्ने निर्णयको विरोध गर्दैै होहल्ला गरेका थिए । उनीहरुले स्वर्णकारमाथि गरिएको कारबाहीको आधार र प्रमाण मागेका थिए । होहल्ला र नाराबाजीका कारण पूर्वनिर्धारित कार्यतालिका अनुसार तदर्थ समिति नै गठन नगरी हतार हतारमा भेला टुङ्गयाइएको एक सहभागीले बताएका छन ।
सोही क्रममा सो पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गणेश धिमाल, चन्दन सिंह, अरविन्द्र साह र रोहवर अन्सारीमाथि दुव्र्यवहार भएको बताइएको छ । घटनापछि केन्द्रीय प्रतिनिधिसहित उनीहरु ४ जना नै सभा हलबाट बिचैमा बाहिरिएका थिए । हलबाट कुनै निर्णय हुन नसकेको र बाहिर बसेर वडा र पालिका अधिवेशन गर्ने निर्णय गरिएको बताइएको छ ।रास्वपा सांसद चन्दनकुमार सिंहले भने भेलाको सर्वसम्मत निर्णय अनुसार नै पालिका र वडा अधिवेशन गर्ने मिति तय गरिएको बताउनुभएको छ । हलमा कुनै विरोध र अवरोध नभएको र वडा र पालिकास्तरीय अधिवेशन गर्ने निर्णयसंगै भेला सफलताका साथ सम्पन्न भएको उहाँले बताउनुभयो ।
भेलामा दुबै पक्षका कार्यकर्ताहरुबीच भएको झडपको क्रममा स्वर्णकार पक्षका महागढीमाई नगर सभापति विक्रम यादव, सिम्रौनगढ नगर सभापति साहेव अन्सारी र युवा कार्यकर्ता डिके सिंह घाइते भएका छन । कलैया प्रदेशिक अस्पतालमा उपचारत यादव र अन्सारीलाई आज साँझ अस्पतालबाट डिस्चार्ज गरिएको छ भने डिके सिंहको अवस्था सामान्य छ ।पार्टी केन्द्रीय समितिले बाराका जिल्ला समिति भङ्ग गरी स्वर्णकारलाई बर्खास्त गरेपछि केन्द्रीय सदस्य कामिनी चौधरीलाई बारा जिल्ला संघठन निर्माण विशेष समितिको संयोजक तोकेर जिल्लामा खटाएको थियो ।



















