सिकिन्द्र साह

सिम्रौनगढ,प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तव लामो समयदेखि कार्यालयमा अुनपस्थित भएपछि बाराको सुवर्ण गाउँपालिकाको दैनिक कामकाज प्रभावित बनेको छ ।गाउँपालिकाका अध्यक्ष राजेसप्रसाद यादवले मंगलवार कलैयामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव लामो समयदेखि कार्यालयमा अनुपस्थित बनेपछि गाउँपालिकाको कामकाज ठप्प बनेको बताउनुभयो । उहाँले आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएर पदभार ग्रहण गरेदेखि नै अधिकृत श्रीवास्तवले सकरात्मक र सहयोगी व्यवहार नदेखाएको र अहिले ५ महिनादेखि मोबाइल फोन समेत स्वीच अफ गरेर सम्पर्कबिहिन बनेको पनि बताउनुभयो । ‘कुनै जानकारी नदिइकन ५ महिनादेखि गायब हुनुभएको छ, अध्यक्ष यादवले भन्नुभयो, अधिकृतको अनुपस्थितिमा विकास निर्माणको कामदेखि कर्मचारीको तलब र दैनिक कामकाज ठप्प बनेको छ ।’ उहाँले अधिकृत सम्पर्कबाहिर रहेको विषयमा जिल्ला प्रशासन कार्यालय बारादेखि मन्त्रालयमा समेत जानकारी गराउदा पनि खोजबिनको लागि कसैले पनि चासो नदेखाएको गुनासो गर्नुभयो । अध्यक्ष यादवले पालिकामा तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न सरोकारवाल निकायसंग माग पनि गर्नुभएको छ ।यसैबीच ५ महिनादेखिको तलब नपाएपछि सुवर्ण गाउँपालिकाका कर्मचारीहरुले मंगलवार नै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएका छन । प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिमा कार्यालयको कामकाज ठप्प बनेको र आफूहरुले तलब भत्तासमेत नपाएको भन्दै अधिकृतको व्यवस्था नभए आफूहरु पनि आन्दोलनमा उत्रिने जानकारीसहित कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी कटुवालमार्फत ज्ञापन पत्र बुझाएका हुन ।
















