सर्लाही,सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लिलाकुमारी मोक्तानलाई वनको झुटो मुद्दा लगाएर फसाउन खोजिएको भन्दै नेकपा (माओवादी केन्द्र) सर्लाही चरणबद्ध आन्दोलनमा उत्रिएको छ ।वन मुद्दामा जनप्रतिनिधिलाई फसाउन खोजेको भन्दै माओवादी केन्द्र सर्लाहीले आइतवार मोटरसाइकल ¥यालीसहित डिभिजन वन कार्यालय घेराउ र प्रदर्शन गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका सुकुम्बासी, स्थानीय बासिन्दा र माओवादी केन्द्रका नेता–कार्यकर्ताहरूले नाराबाजीसहित लालबन्दीस्थित डिभिजन वन कार्यालय घेराउ गरेका हुन् ।
डिभिजन वन कार्यालयले बागमती नगरपालिका– ४ र १२ मा निर्माणाधीन भरत ताल, नगर बगैँचा र सुकुम्बासी व्यवस्थापनसम्बन्धी गतिविधिमा मेयर भरतकुमार थापा, उपमेयर लिला कुमारी मोक्तानसहित केही कर्मचारीविरुद्ध मुद्दा दर्ता गर्न लागेको भन्दै विरोधमा माओवादी कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन ।पूर्व–पश्चिम राजमार्गमा पुतलीचोकदेखि फुलजोर खोलासम्म सयौँ मोटरसाइकलको ¥यालीसहित विरोध प्रदर्शन गरिएको थियो । मोटरसाइकल ¥यालीपछि केही समय लालबन्दीस्थित डिभिजन वन कार्यालयलाई घेराउ गरेर प्रदर्शनकारीहरूले आफ्नो विरोध व्यक्त गरेका थिए ।
सो अवसरमा माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले उक्त मुद्दालाई कपोलकल्पित र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाउँदै जनप्रिय मेयर र उपमेयरलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताउनुभयो ।
माओवादी केन्द्रले स्थानीय सरकारले सुकुम्बासी व्यवस्थापनका लागि गरिरहेको प्रयासलाई अतिरञ्जित बनाएर झुटा मुद्दा लगाउन खोजिएको दाबी गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य प्रल्हाद बुडाथोकीले स्थानीय सरकारको विकास प्रयासलाई रोक्न खोज्नेहरूप्रति कडा संघर्षमा जाने चेतावनी दिनुभयो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मेयर थापा र उपमेयर मोक्तान हाल निलम्बित अवस्थामा छन् ।
माओवादी केन्द्रका अनुसार बागमती नगरपालिकाले बागमती नदीले छाडेको जमिनलाई तालमा रूपान्तरण गरेर पर्यटन प्रवद्र्धन र आयआर्जनको लागि प्रयोग गर्न खोजेकोमा सरकारी निकायहरूले षड्यन्त्र रचेको आरोप छ ।यसअघि पार्टीले झुटा मुद्दा तुरुन्त खारेज गर्न माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ । ज्ञापनपत्रमा झुटा मुद्दामा फसाउने षड्यन्त्र नरोकिए आन्दोलनलाई थप सशक्त बनाउँदै मशाल जुलुस, जनसभा, आम हड्तालजस्ता कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको थियो ।