वीरगञ्ज,दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिँडेको आरोपमा पक्राउ परेका बेहुला र ४ जना आफन्तविरुद्ध प्रहरीले कानुनी कारबाही अघि बढाएको छ । पर्सा प्रहरीले विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

वीरगञ्ज महानगरपालिका– २४ रामगढवामा सोमवार राति वैवाहिक समारोह चलिरहेकै बेला बेहुलाले सुनको सिक्री मागेको विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भई बिहे नै भाँडिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बाराको कलैया– ४ का २८ वर्षीय बेहुला उमेश साह, उनका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेशकुमार साह, ४० वर्षीय मुकेशकुमार साह र भिनाजु बाराकै परवानीपुर गाउँपालिका– ५ का ४५ वर्षीय रामएकवाल साहविरुद्ध विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
बेहुली पक्षले दिएको जाहेरीका आधारमा मङ्गलवार साँझ उनीहरू विरुद्ध पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमति लिई कारबाही प्रक्रिया अगाडि बढाइएको थापाले बताउनुभयो ।वीरगञ्ज – २४ रामगढवास्थित बेहुलीको घरमा सामाजिक परम्परा अनुसार वैवाहिक कार्यक्रम चलिरहेका बेला बेहुला उमेशले दाइजोमा सुनको सिक्री नपाएको भन्दै निहुँ खोजेपछि विवाद भई बेहुला र बेहुली पक्षबिच कुटाकुटसमेत भएको थियो ।त्यसपछि बेहुला उमेश बिहे नगर्ने भन्दै जग्गेबाट उठेर हिँडेका थिए । लगत्तै बेहुली पक्षले खबर गरेपछि विवाह स्थलमा पुगेको प्रहरीले सोमवार राति २ बजे नै बेहुला उमेशसहित उनका ४ जना आफन्तलाई नियन्त्रणमा लिएको थियो ।बिहे भाँडेको आरोपमा पक्राउ परेका बेहुला उमेश वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् भने बेहुली रमिता साह वीरगञ्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।
आरोप झुटो : बेहुलाकी आमा राधिका
कलैया,दाइजोमा सुनको सिक्री नपाएको आरोपमा पक्राउ परेका बेहुला उमेशकी आमा राधिका देवी साहले बेहुली पक्षले झुटो आरोप लगाएर आफ्नो परिवारलाई बदनाम गरेको दाबी गर्नुभएको छ ।बाराको कलैया उपमहानगरपालिका – ४ का बेहुला उमेश साहकी आमा राधिकाले दाइजोको विवाद नभई बेहुली पक्षले हैसियतभन्दा बढी गहनाको माग गरेका कारण विवाद भई बिहे भाँडिएको दाबी गर्नुभएको छ ।
बुधवार सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमार्फत उहाँले बिहेको जग्गेमा कन्या निरीक्षणको क्रममा बेहुली पक्षकाले बेहुलीका लागि थप गहना दिनुपर्ने अडान राखेपछि विवाद भएको बताउनुभएको छ ।छोरा उमेश र बेहुलीबीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र अहिले पारिवारिक सहमतिमा मागी बिहे गर्न लागिएको पनि उहाँले बताउनुभएको छ ।



















