सिमरा,जेनजी पुस्ताको प्रदर्शनको समयमा तोडफोड गरिएको सिमरास्थित ईलाका प्रशासन कार्यालयलाई बिहीबार कम्प्युटर, प्रिन्टर, स्क्यानर मेसिनजस्ता उपकरण हस्तान्तरण गरिएको छ ।कार्यालयको अत्यावश्यक सेवा सुचारु गर्न सिमरा जेसीज र लायन्स क्लब अफ सिमरा जागरणको समन्वयमा सहयोग जुटाएर सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यालयलाई पाँच थान कम्प्युटर, तीन थान प्रिन्टर, दुई थान स्क्यानर सहयोग गरिएको सिमरा जेसीजका पूर्वअध्यक्ष शालिकराम अधिकारीले जानकारी दिनुभयो । उहाँले केही पुरानो सामग्रीलाई समेत मर्मत गरेर हस्तान्तरण गरिएको बताउनुभयो ।

भदौ २४ गते भएको तोडफोडयता कार्यालयको सेवा ठप्प छ । तोडफोडबाट कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, एसीलगायतका सामग्रीमा पूर्णरुपमा क्षति पुगेको थियो । सो समयमा कार्यालयका प्रमुख चढ्ने सवारी साधन समेत सडकमा ल्याएर आगजनी गरिएको थियो ।लामो समय भाडाको घरबाट सेवा प्रदान गर्दै आएको कार्यालय गत मंसिरमा मात्रै आफ्नै भवनमा सरेको थियो । उक्त भवनमा कार्यालय संचालन गर्न राजनीतिक दल, जीतपुरसिमरा उपमहानगरपालिका, विभिन्न वडा कार्यालय, स्थानीय सामाजिक अगुवा, विभिन्न कलकारखाना तथा संघसंस्थाले सामग्री सहयोग गरेका थिए ।कार्यालयका प्रमुख राजेन्द्रप्रसाद कंडेलले कार्यालयले दशैंपछि सेवा सुचारु गर्ने जानकारी दिनुभएको छ ।
तस्बिर सौजन्य

Leave a Reply