निजगढ,नेपाल विद्युत प्राधिकरणलाई सडक बत्तिको महशुल बापत बाराका स्थानीय तहले १५ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी देखिएको छ ।जिल्लाको कलैया, जीतपुरसिमरा, निजगढ, सिम्रौनगढ, महागढीमाई नगरपालिका लगायत दर्जनौं पालिकाले सार्वजनिक सडकमा बालेको बत्तिको विद्युत् महशुल तिर्न बाँकी देखिएको हो ।नेपाल विद्युत प्राधिकरणले सूचना प्रकाशित गरेर दिएको जानकारी अनुसार कलैया उपमहानगरपालिकाको सबैभन्दा बढी रकम बक्यौता रहेको छ । उसले प्राधिकरणलाई ६ करोड ८९ लाख भन्दा बढि रकम तिर्न बाँकी छ । त्यस्तै महागढिमाई नगरपालिकाको २ करोड ७० लाख, सिम्रौनगढ नगरपालिकाको १ करोड ५९ लाख, फेटाको गाँउपालिकाको १ करोड ४९ लाख, कोल्हबी नगरपालिकाको १ करोड २५ लाख, जीतपुरसिमरा उपमहानगरपालिकाको १ करोड २२ लाख रकम बक्यौता देखिएको छ ।
स्थानीय तहले सडकमा प्रयोग गरेको बत्तिको महशुल तिर्न चासो नदेखाउँदा बक्यौता बढेको हो । सडकका लागि विद्युत् प्रयोग गरेर महशुल नबुझाउने ३ सय ३२ स्थानीय सरकारलाई ४५ दिनभित्र महशुल बुझाउन प्राधिकारणले समय दिएको छ ।त्यसैगरी निजगढ नगरपालिकाले सडक बत्तिको ५ लाख रुपैया भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । निजगढको बक्यौता रकम जिल्लाको अन्य पालिकाको तुलनामा सबैभन्दा कम हो ।उता, पर्साको विरगञ्ज महानगरपालिकाले देशभरिमा सबैभन्दा बढी अर्थात १७ करोड २८ लाखभन्दा बढी विद्युत महशुल तिर्न बाँकी रहेको छ । सडक बत्तीका लागि विद्युत् प्रयोगबापत देशभरका स्थानीय तहबाट कुल ६ अर्ब ८ करोड ९४ लाख ३११ रूपैयाँ उठउन बाँकी छ । प्राधिकरणले सो रकम असुल उपर गर्न कारबाही शुरु गरेको बताएको छ ।

Leave a Reply