गएको हप्ता नेकपा एमाले सहितका केही साना दलहरुको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) यो देशको कार्यकारी पदमा पुगेका छन् । उनी यो पदमा पुगेको एक हप्तामा नै आइतबार पोखरा पुगेर अन्तर्राष्ट्रिय विमानस्थलको उद्धाटन गरेका छन् । उनले पोखरामा विमानस्थलको उद्धाटन गरिरहदा बारा जिल्लावासीको मन भने कटक्क खाएको छ ।किन भने पोरखा र निजगढमा विमानस्थल बनाउने कुरा लगभग संगसंगै जसो अगाडि बढेको हो तर पोखरामा विमानस्थल निर्माण कार्यले मुर्त रुप लियो भने निजगढ वा बारामा काम अगाडि समेत बढ्न सकेको छैन भन्दा पनि हुन्छ । आइतबार पोखरामा विमानस्थल उद्धाटन गर्दै प्रचण्डले आफ्नो पालामा निजगढमा पनि विमानस्थल निर्माण कार्यले गति लिने बताएका छन् ।यसो भनिरहदा फेरि उनी अबको करिब दुई वर्ष मात्रै यो पदमा रहने भएकाले यही अवधिमा निजगढमा विमानस्थल बन्ने त छैन तर कम्तीमा निर्माणका लागि केही गति बढेदेखि बारा र यस आसपासका नागरिकहरुको निजगढबाट विमान चढ्ने चाहना र सपना पुरा हुनेछ नत्र यो केवल सपनाको रुपमा अझै धेरै वर्ष कुर्न पर्ने देखिन्छ ।



















