जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ ले वडाभित्र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न र लागु औषध सेवन गर्न प्रतिवन्ध लगाएको छ । वडा कार्यालयमा बसेको स्थानीयको बैठकले लागु औषधको सेवनले वडाभित्र हत्याका साथै समाजिक अपराधका घटना बढ्दै गएकोले यो निर्णय गरिएको वडा अध्इक्ष असल देवानले जानकारी दिनु्भयो । वडालाई लागु औषध र मदिरा मुक्त क्षेत्र बनाउन गाउँलेको भेलाले वडा कार्यालयको संरक्षणमा २१ सदस्य समिति समेत बनाएको छ ।

समितिले वडाभित्र रहेका मदिराजन्य पसल बन्द गराउने, लागु औषध सेवन गर्ने व्यक्ति पहिचान गरी सम्झाउने, नसम्झे जरीवाना गर्ने र अन्त्यमा कानुन अनुसार कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले लागु औषध सेवन गर्ने, जुवातास खेल्नेलाई पहिलो पटक सम्झाउने, दोस्रो पटक २ हजारदेखि ५ हजारसम्म जरिवाना गर्ने र तेस्रो पटक कानुनी कारवाहीको लागि सिफरिस गर्ने निर्णय गरेको वडा अध्यक्ष देवानले जानकारी दिनुभयो । भेलाले टोल सुधारको लागि बनाइएको समितिमा रहेका सदस्यले यदि लागु औषध सेवन गरेमा, जुवातास खेलेमा वा समाजिक अपराधलाई प्रश्रय हुने कुनै पनि कार्य गरेको पाइएको खण्डमा निजलाई १० हजारसम्म जरिवाना गर्ने निर्णय समेत गरेको छ । भेलामा वडा अध्यक्ष देवानसहित वडा सदस्य अमरुल नेसा, मुस्तकिम अंसारी, भिखारी मंसुरी, हाकिम मंसुरी, इम्तीयाज अंसारी ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी हवल्दार जितेन्द्र महतो लगायत स्थानीयहरुको सहभागिता रहेको वडा नम्बर २३ का वडा सचिव जितेन्द्रप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply