राज कुमार साह
मौलापुर,प्रभु साहले नयाँ पार्टी घोषणा गर्नुभएको छ । माओवादीबाट नेकपा एमाले हुँदै रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गर्नुभएको हो ।काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो । नयाँ पार्टीमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । सो ५१ सदस्यीय केन्द्रीय समिति घोषणा सहित गरिएको कार्यविभाजनअनुसार प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने रहेका छन् ।त्यस्तै गण्डकीको अध्यक्षमा राजन यादव ‘मनोज’ र इन्चार्जमा बद्री न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रीतादेवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुशवाह र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिमको अध्यक्षमा केशव राय चौधरी र इन्चार्जमा कुन्दन कुशवाह रहेका छन् ।आम जनता पार्टीको जनवर्गीय संगठन तथा विभागहरुको पनि जिम्मेवारी तोकिएको छ । जसमा आईटी आर्मीको अध्यक्षमा चन्द्रभूषण साह र इन्चार्जमा प्रभु साह रहेका छन् । आम दलित मोर्चाको अध्यक्षमा चन्देश्वर बैठा र इन्चार्जमा रामप्रित राम, आम महिला मोर्चाको अध्यक्षमा कान्ति महतो र इन्चार्जमा करिमा बेगम रहेका छन् । आम विद्यार्थी मोर्चाको अध्यक्षमा विवेक साह र इन्चार्जमा उमेश कुशवाह र आम किसान मोर्चाको अध्यक्षमा किताब तामाङ र इन्चार्जमा कुन्दन कुशवाह रहेका छन् । आम जनता पार्टीसँग एकता र सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली पनि बनाएको छ । जसमा उपेन्द्र साह, रामप्रित राम र इस्लाम हवारी रहेका छन् ।आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन गत निर्वाचनमा संचालन गरिएको स्वतन्त्र उम्मेदवार जिताऔं अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको साहले जानकारी दिनुभयो ।नयाँ पार्टी निर्माणका लागि प्रभु साहलाई अर्का नेता बद्री न्यौपानेले साथ दिनुभएको छ । न्यौपाने तत्कालीन चुरे भावर पार्टी हुँदै एमालेको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो भने चुनाव अगाडि एमाले छाडेर निष्क्रिय बन्नुभएको थियो । एमालेले जसपासँग चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै साह र न्यौपानेले एमाले छाडेको घोषणा गरेका थिए । न्यौपानेले प्रभुलाई नयाँ पार्टी बनाउन सहयोग गर्दा प्रभुकै अभियानमा रहेका भनिएका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भने साथ दिनुभएको छैन ।नेकपा खारेजसँगै एमाले र माओवादी आआफ्नो अस्तित्वमा फर्किंदा प्रभु साह एमालेमै रहनुभएको थियो भने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी बन्नुभएको थियो ।


















