काठमाण्डौ – एसीसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलङ्का ’ए’ ले ओमान ’ए’ लाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको छ ।श्रीलङ्काले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर १ बलमा ४२ रनमै अलआउट भयो । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले १० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ चमिका करुनारत्नेले ३ तथा दुनिथ वेलालेगे, प्रमोद मदुशन र लाहिरु समाराकूनले २-२ विकेट लिए ।यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनाए । श्रीलङ्काका पसिन्दु सूरियबन्दराले सर्वाधिक ६० रन बनाए । यस्तै शहन अर्चचिगेले ४८ र लसिथ क्रूरपुलेले ४२ रन बनाए । बलिङतर्फ अकिब इलियासले ४ विकेट लिए ।यो जितसँगै श्रीलङ्का ३ खेलमा ४ अङ्कसहित समूह ’ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । ३ खेलमा १ अङ्क पनि जोड्न नसकेको ओमान यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो ।यस्तै मंगलवारनै भएको अर्काे खेलमा बङ्गलादेश ’ए’ ले अफगानिस्तान ’ए’ लाई २१ रनले हराएको छ ।बङ्गलादेशले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८७ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका लागि रियाज हसनले ७८ र बहिर शाहले नटआउट ५३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तन्जिम हसन सकिबले ३ तथा रकिबुल हसन र सौम्य सरकारले २÷२ विकेट लिए ।यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनायो । बङ्गलादेशका महमुदुल हसन जोएले शतक बनाए । उनी १ सय १४ बलमा सय रन बनाएर आउट भए । यस्तै जाकिर हसनले ६२ रन बनाए । बलिङतर्फ अफगानिस्तानका सलीम सफीले ४ विकेट लिए ।यो जितसँगै बङ्गलादेश ३ खेलमा ४ अङ्कसहित समूह ’ए’ को दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । अफगानिस्तान ३ खेलमा ४ अङ्क नै भए पनि नेट रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।यस्तै समूह ’बी’ बाट भारत र पाकिस्तानको ’ए’ टोली सेमिफाइनलमा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here