नरेश गुप्ता
बरियारपुर,नेपाली कांग्रेस बाराको नयाँ नेतृत्व चयनकोलागि बिहीवार उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेका छन् । नयाँ नेतृत्वका लागि नेता शम्भुबहादुर बुढाथोकी, रामानन्द यादव र कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन ।
नेता बुढाथोकीलाई नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुर, संविधानसभा सदस्य रामअयोध्या यादव, निवर्तमान जिल्ला सभापती जयचन्द्र चौरसिया, नेपाली कांग्रेस क्षेत्र नम्बर– १ का सभापति एवं सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादव, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बिश्रामपुर गाउँपालिकाका प्रमुख अमिरी पाल, क्षेत्र नम्बर– ३ का सभापति प्रभात चौरसिया सहितका नेताहरुको समर्थन रहेको छ ।
अर्का नेता रामानन्द यादवलाई सहमहामन्त्री एंव खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी, नेता लालबाबु सिंहसहितका नेताहरुको समर्थन रहेको छ । यता कलैयाका मेयर राजेश राय यादवलाई जिताउन मेयरका बुवा पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादव, क्षेत्र नम्बर– २ का सभापति रामप्रवेश यादव, क्षेत्र नम्बर– ४ का सभापती सुनिल गुप्तासहित नेताहरु लागेका छन् ।
सभापतिका दाबेदार रामानन्द यादवको प्यानलबाट उपसभापतीमा मनोज भट्ट, पेमा लामा, सचिवमा राजेश रौनियार, बिजय गुप्ता, ससचिवमा राकेश सिंह, सोभी मण्डललगायतले उम्मेदवारी दर्ता गराएका छन ।
त्यसैगरी जिल्ला सभापतीका दाबेदार बुढाथोकी प्यानलबाट उपसभापतीमा अमिरिलाल पाल र देवेन्द्र उपाध्याय, सचिवमा भैयाराम यादव, राजेन्द्रकुमार जैसवाल तथा ससचिवमा कृष्ण देवप्रसाद जैसवाल र प्रमोद यादवले उम्मेदवारी दर्ता गराएका छन ।
नेपाली कांग्रेस बारामा देखिएको त्रिपक्षीय प्रतिस्पर्धामा युवा नेता बुढाथोकी र रामानन्द यादवबीच पहिलो चरणमा कडा प्रतिस्पर्धा हुने नेताहरूले बताएका छन । नेपाली कांग्रेस बारामा देखिएको परिवारवाद र नाताबादलाई तोडन र आफ्नो पुरानो सोच र बर्चश्व देखाउने परिपाटीलाई अन्त गर्नको निमित्त बारामा दुई÷दुई वटा थप धारहरु देखिएकोले कांग्रेस बारामा परिवर्तनको खांचो रहेको नेताहरुले बताएका छन ।
नेपाली कांग्रेस बाराको बिहीवार सम्पन्न उम्मेदवारी दर्तापछि फाल्गुन २१ गते निर्वाचन हुने भएको छ । नेपाली कांग्रेस बारामा दुई हजार चार सय असी मतदाताहरु रहेका छन । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत ल्याउन नसके बढी मत प्राप्त गर्ने २ जना उम्मेदवारबीच पुनः दोस्रो चराणमा जिल्ला सभापती पदको लागि निर्वाचन हुने छ ।
नेपाली कांग्रेस बाराको निर्वाचनको लागि फाल्गुन २१ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सिद्धेश्व संस्कृत माध्यमिक विद्यालयमा मतदान हुने तोकिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जानकारी दिनुभयो ।
यसैबीच नेपाली काङ्ग्रेस पर्साको नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ । कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान भएको हो । मतदानमा १ हजार ८ सय २० जना मतदाता सहभागी भएको निर्वाचन अधिकृत नरेन्द्र केसीले बताउनुभयो । कांग्रेस पर्साको सभापतीमा दुई जनाको उम्मेदवारी परेको छ ।
तत्कालीन जिल्ला विकास समितिका सभापती जनार्दन सिंह क्षेत्री र कांग्रेसका निर्वतमान जिल्ला सचिव श्याम पटेल सभापतिका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । संस्थापन पक्षका उम्मेदवार क्षेत्रीलाई, कांग्रेस केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसीया, पूर्वमन्त्री सुरेन्द्र चौधरी र संविधानसभा सदस्य अनिल रुंगटाको समर्थन रहेको छ भने संस्थापनइतर पक्षका उम्मेदवार पटेललाई भने निवर्तमान सभापती अजय द्धिवेदी र संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यको समर्थन रहेको छ । ७ पदाधिकारी सहित ६८ सदस्यिय जिल्ला कार्यसमितिका लागि क्षेत्री र पटेल दुवै पक्षले आआफनो प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।
क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलमको उम्मेदवारी परेको छ ।
यस्तै सहसचिवमा क्षेत्रीको प्यानलबाट नविन सिंह र मदनप्रसाद यादवको उम्मेदवारी परेको छ । यसैगरी पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरीले उम्मेदवारी दिनुभएको छ । पटेलको प्यानलबाट सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादवको उम्मेदवारी परेको छ । यो प्यानलबाट सहसचिवमा दिलिपराज कार्की र लुकमान अन्सारीले उम्मेदवारी दिनु भएको छ ।
यसैबीच नेपाली कांग्रेस पर्साको अधिवेशनमा जिल्ला सदस्यमा क्षेत्री प्यानलका आधा दर्जन उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पालिकाको कलष्टरबाट ६ जना जिल्ला सदस्यका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
पर्सा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने जगरनाथपुर गाउँपालिकाबाट जिल्ला सदस्यका उम्मेदवार भएका प्रेमबहादुर थापा र महापतिया दुसादिन निर्विरोध निर्वाचित हुनु भएको छ । जगरनाथपुर गाउँपालिकाबाट एकजना महिला र एकजना पुरुष गरी जिल्ला सदस्यको लागि दुईजनाको मात्र उम्मेदवारी परेपछि दुबैजना निर्विरोध निर्वाचित हुनु भएको हो ।
यस्तै धोबिनी गाउँपालिकाकी उर्मिला देवी कुर्मीन, छिपहरमाई गाउँपालिकाकी मिनादेवी सुनार, जिराभवानी गाउँपालिकाकी रुनादेवी मुसहेरिन र पटेर्वा सुगौली गाउँपालिकाकी मानमती देवी थरुनी पनि जिल्ला सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
पालिकाको कलष्टरबाट जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका सबै ६ जना क्षेत्री पक्षको प्यानलका रहेका छन् ।