नरेश गुप्ता

बरियारपुर,बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले शीतलहर प्रभावित जिल्लाका बिपन्न परिवारलाई दाउरा र न्यानो कपडा वितरण गर्न स्थानीय तहलाई मंगलबार निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा जिल्ला विपद व्यवस्थापन तथा शान्ति सुरक्षा बारे छलफल गर्न बसेको बैठकका सहभागी स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई अतिविपन्न र विपन्न समुदायका नागरिकको पहिचान गरि दाउरा र न्यानो कपडा वितरण गर्ने निर्देशन दिनुभएको हो । दाउरा र न्यानो कपडा वितरण कार्य जिल्लास्थित सुरक्षा निकायसंग समन्वय गरि सुरु गर्न प्रजिअ कटुवालले बैठकमा जानकारी गराउनुभएको थियो ।

जिल्ला विपद व्यवस्थापन तथा सुरक्षा समितिका संयोजकसमेत रहनु भएका प्रजिअ कटुवालले शीतलहर र चीसोका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने बारेमा स्थानीय तहका प्रतिनिधिहरु सचेत हुन जरुरी रहेको उहाँको भनाइ थियो ।

बैठकमा हाल जिल्लामा देखिएको रसायनिक मलको समस्या समाधान गर्न र कोभिड १९ विरुद्धको खोप व्यवस्थापन कार्यसमेत तत्काल संचालन गर्नुपर्ने उहाँ बताउनुभयो ।

बिगत एक हप्तादेखि बढ्ेको शीतलहर र चिसोको कारण जनजीवन कष्टकर बन्दै गएपछि बाराका १६ वटै स्थानीय तहमा बसोबास गर्ने अतिविपन्न परिवार र दलित समुदायका सर्वसाधारण नागरिकलाई दाउरा र न्यानो कपडा व्यवस्थापन गर्न प्रजिअ कटुवालले सबैलाई निर्देशन दिनुभएको थियो ।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनाल, कोल्हबी नगरपालिकाका प्रमुख भरत भण्डारी, प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ता, बिश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल पाल, देवताल गाउँपालिका अध्यक्ष चन्दन सिहलगायत कलैया उपमहानगरपालिका, करैयामाई, बारागढ, आदर्श कोतवाल, सुवर्ण गाउँपालिका र पचरौता नगरपालिका लगायतका स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो । जिल्ला विपद व्यवस्थापन समितिका प्रजिअ कटुवालको अध्यक्षतामा भएको बैठकमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख दिपेन्द्र शाही, सशस्त्र प्रहरी उपरीक्षक रोबिन कर्णजित लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply