सिमरा,जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधवारको खेल वर्षाका कारण स्थगित भएको छ । बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीच हुने खेल स्थगित भएको हो ।
आयोजक अभियान नेपालका संरक्षक त्रिलोकबिक्रम शाहले वर्षाका कारण प्रभावित भएको खेललाई बिहीवार सारिएको बताउनुभयो । वर्षा नरोकिएका कारण बुधवारको खेल बिहीवार र बिहीवारको लागि निर्धारण भएको मकवानपुर र भैरहवाबीचको खेल शुक्रवारको लागि सारिएको शाहले जानकारी दिनुभयो ।राउण्ड रोबिनका आधारमा संचालित प्रतियोगितामा समूह ‘बी’ को दुई खेल बाँकी छ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन् । समूह ‘बी’ को मंगलवार सम्पन्न पहिलो खेलमा मकवानपुरले जनकपुरलाई ३१ रनले पराजित गरेको थियो । समूहको दोस्रो खेलमा जनकपुर र भैरहवा भिड्नेछन् भने तेस्रो खेलमा मकवानपुर र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।
यस समूहको विजेताले समूह ‘ए’ को विजेता पर्सा क्रिकेट संघसंग चैत्र १० गते फाइनल खेल्नेछ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै पर्सा यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ । आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा फाइनलमा प्रवेश गरेको हो ।अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।यसैबीच परवानीपुर गोल्डकप अन्तर्गत बुधवार हुन लागेको पहिलो सेमिफाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।निरन्तर वर्षाका कारण मैदानमा पानी जमेपछि आयोजकले खेल स्थगित गरेको हो । बिहानैदेखि भएको वर्षा नरोकिएपछि आयोजकले अन्तिम समयमा खेललाई एक दिन पछि धकेल्ने निर्णय गरेको हो । आयोजकका अनुसार अब सेमिफाइनलका दुवै खेल बिहीवार हुनेछ । वीरगञ्जका दुई टिमबीचको पहिलो सेमिफाइनल खेल दिउँसो १२ बजे र त्यसलगत्तै दोस्रो सेमिफाइनल खेलमा बागमती युवा क्लब र हेटौंडा एकेडेमी भिड्नेछन् ।



















