निजगढ,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरीले निजगढ नगरस्तरीय अन्तर विद्यालय फुटबलको उपाधि जितेको छ । बिहीवार सम्पन्न फाइनल खेलमा बकैया ठाकुर माध्यमिक विद्यालय खयरघारीलाई २÷० गोल अन्तरले पराजित गर्दै नेरामावि रतनपुरीले उपाधि हात पारेको हो ।जितसंगै रतपुरीले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता बकैया ठाकुर माविले १० हजार रुपैयाँ प्राप्त गरेको छ । विजयी टिम तथा खेलाडीलाई निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।नेरामाविको जितमा खेलको १४औं मिनेटमा बसन्त थोकरले गोल गर्दै अग्रता दिलाएका थिए । बकैया ठाकुर माविलाई खेल अवधिभरि दबाबमा राखेको रतनपुरीका कर्मा मोक्तानले २३औं मिनेटमा गोल गर्दै २÷० को जित दिलाए । फाइनल खेलको म्यान अफ द म्याच रतनपुुरीका बसन्त थोकर भए । प्रतियोगिताको अनुशासित टिम नेपाल राष्ट्रिय आधारभुत विद्यालय निजगढ, सर्वाधिक गोलकर्ता नेरामावि रतनपुरीका कर्मा मोक्तान (४ खेलमा ३ गोल ), प्रतियोगिताको उत्कृष्ट गोलरक्षक नेरामाविका निरजबहादुर थिङ र प्रतियोगिताको उत्कृष्ट खेलाडी रतनपुरीकै बिक्रम वाइबा भए ।निजगढ फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भरतगन्ज सिङ्गौल, नेपाल राष्ट्रिय आधारभुत विद्यालय निजगढ, सार्वजनिक माध्यमिक विद्यालय बाघदेव, गौरीशंकर माध्यमिक विद्यालय सडकटोल, विद्यासागर माध्यमिक अङ्ग्रेजी बोर्डिङ स्कुल निजगढ ७, गौरीशंकर माध्यमिक बिद्यालय सहिद चोक, बकैया ठाकुर माध्यमिक विद्यालय, होलिएन्जल्स माध्यमिक अङ्ग्रेजी बोर्डिङ स्कुल निजगढ ९, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लाल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरी र आयोजक निजगढ फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित शहिद हिरालाल रंगशालामा भएको प्रतियोगिताको उद्घाटन निजगढ नगरपालिकाका नगर प्रमुख पुरीले गर्नुभएको थियो ।




















