काठमाण्डौं,कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिवार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ ।

यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ । क्रोएसिया जारी विश्वकपमा अपराजित छ भने अर्जेन्टिना समूहको चरणको पहिलो खेलमै साउदी अरेबियासँग हारेको थियो ।

यस्तै अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ । जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचिसकेको छ । मोरक्को पनि यस विश्वकपमा अपराजित छ ।

बेल्जियम र क्रोएसिया जस्तो टिम रहेको समूहमा विजेता बनेको मोरक्कोले नकआउट चरणमा स्पेन र पोर्चुगललाई हराएको थियो । पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोले अब साविक विजेता फ्रान्सको सामना गर्ने भएको छ ।

फ्रान्सले इंग्ल्याण्डलाई २–१ ले हराएर लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । चार वर्षअघि रुसमा फ्रान्सले क्रोएसियालाई हराएर उपाधि जितेको थियो ।

यस्तै क्रोएसिया पनि लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्दा अर्जेन्टिनान भने २०१४ पछि सेमिफाइनलमा प्रवेश गरेको हो । २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिना फाइनल पुगे पनि जर्मनीसँग पराजित भएपछि उपविजेता बनेको थियो ।

पछिल्ला दुई विश्वकपमा पराजित भएका टिमहरू यसपटक सेमिफाइनलमै भिड्नेछन् र एक मात्र फाइनल पुग्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here