कलैया,बारा जिल्लाकी युवती रुबी साहलाई १० हजार डलर बराबरको ‘जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान’ (जेएमके) वुमन इन विजनेस छात्रवृत्तिबाट सम्मान गरिएको छ ।

उहाँलाई जोन्टा क्लब अफ काठमाडौँ वडा नम्बर २५, क्षेत्र नम्बर २ बाट मनोनयन गरिएको थियो । पुरस्कारको लागि जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट छनोटमा आवेदन पठाइएको थियो । त्यहाँबाट उहाँले थप २ हजार डलर पनि प्राप्त गर्नुभयो ।

प्रतिस्पर्धि अन्य ३२ जनाले २ हजार डलर बराबरको थप छात्रवृत्ति पाएका छन् । रुबीले संयूक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८ हजार डलर प्राप्त गनुभएको हो । उहाँ शैक्षिक वर्ष २०२१– २०२२ को लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका ६ मध्ये एक हुनुहुन्छ ।

रुबी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ । १९ वर्षको उमेरदेखि नै रुबीले इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गर्दै आउनुभएको छ ।

उद्यमी नेपालीको पूर्वप्रमुख अपरेटिङ अफिसर पनि रहनु भएकी रुबी हाल कीर्तिपुरको रोट्रयाक्ट क्लबको चार्टर प्रेसिडेन्टको रूपमा नेतृत्व गरिरहनु भएको छ । क्बलमा उहाँले ४० भन्दा बढी स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकास सम्बन्धी कार्यक्रमहरू संयोजन गरिरहनु भएको छ ।

Leave a Reply