कलैया,स्थानीयत तहको चुनाव नजिकिदै गर्दा गाउँपालिकालाई बदनाम गर्ने समाचारहरू प्रकाशन हुने गरेको बारागढी गाउँपालिकाका प्रवक्ता अच्छेलाल महराले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिनुभएको छ ।
महालेखा परीक्षणको कार्यालयले प्रकाशन गरेको ५८ प्रतिवेदनमा बारागढी गाउँपालिका बारा जिल्लामा सबैभन्दा कम बेरुजु भएको पालिकामा परेकोले विपक्षी दलका नेताहरूले पत्रकारलाई परिचालन गरि विभिन्न किसिमको अनर्गल समाचार सम्प्रेषण गराउने गरेको बारागढी गाउँपालिकाका अध्यक्ष देवदत बछाड थारूले पत्रकार सम्मेलनमा सुनाउनुभयो ।
तत्कालीन बारागढी गाउँपालिकामा सरूवा भई प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनुभएका वकिल पालले गाउँपालिका कार्यालयलाई नै विवादित बनाएका बेला गाउँपालिकाको सम्पूर्ण कामकाज प्रभावित भएको थियोे । सोहीबेला केही संचारकर्मीहरुले विपक्षी राजनीतिकका कार्यकताको दबाबमा विभिन्न किसिमको तथ्यहिन र भ्रामक समाचारहरू प्रकाशन गरेकोले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी र जनप्रतिनिधिहरूले खेद प्रकट गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
तथ्यहिन र भ्रामक समाचार लेख्ने पत्रकारलाई गाउँपालिकाले कार्यक्रम तथा आर्थिक लाभ हुने काम नदिएकाले समाचारहरू लेख्ने गरेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले आरोप लगाउनुभएको छ । समाचार लेख्ने पत्रकारले पटकपटक कहिले वडा नम्बर १ का वडा अध्यक्ष सुरेश चौधरी त कहिले स्थानीयमार्फत कार्यक्रम माग्न आउने गरेको बताइएको छ । तर निर्वाचन नजिकिदै गर्दा आचारसंहिता लागू भएकोले अब कुनै पनि सम्झौता नगर्ने भन्दै फर्काएकाले गाउँपालिकालाई बदनाम हुने गरि समाचार प्रकाशित गरिएको गाउँपालिकामा कार्यरत कर्मचारीहरूको भनाइ थियोे ।
पत्रकारले समाचार लेख्दा आचारसंहिता पालना गर्नुपर्ने हुन्छ, तर समाचार लेख्ने पत्रकारले समाचार लेख्दा सम्बन्धित कार्यालयका फाटँवाला प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतसँग प्रतिक्रिया लिएर समाचार लेख्नुपर्ने कुरामा गाउँपालिकाका कर्मचारी उपेन्द्र साहले जोड दिनुभयो । तर समाचार लेख्ने पत्रकारले सम्बन्धित कसैको पनि बिना प्रतिक्रिया लिई एकपक्षीय समाचार प्रकाशन गर्ने गरेकोले त्यस्ता समाचारहरु बार्गेनिङको लागि लेखिएको हुनसक्ने उहाँको भनाइ थियो ।
‘बारागढी गाउँपालिकाको गोरख धन्दा’, ‘दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छाडिएको तथ्य फेला’ भन्ने जस्ता शीर्षकमा प्रसारित समाचार तथ्यहिन रहेको बारागढी गाउँपालिकाका प्रशासन फाँटका कर्मचारी राजाराम साहले बताउनुभयो ।
प्रशासन शाखामा कार्यरत कर्मचारी साह र समाचार लेख्ने पत्रकार गाउँले भएकाले पाँच महिना पहिला समाचार लेख्ने पत्रकारले फोटो खिचेको तर पुरानो फोटो देखाएर अहिले निर्वाचनको बेला विपक्षी दलसँग मिलेर तथ्यहिन तथा भ्रामक समाचार बारम्बार प्रकाशित गर्ने गरेको बताइएको छ ।
आर्थिक वर्ष सुरु हुने बेलामा आफूबाट केही गल्ती भएको साहले बताउनुभयो । आफू प्रशासन फाँटमा पहिलो पटक बसेकोले आफूबाट गल्ती भएकोले प्रमुख प्रशासकीय अधिकृत चौधरीले मौखिक तथा लिखित स्पष्टीकरण सोधेको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत चौधरीले २०७८ पौष २ गते नै सो विषयमा स्पष्टीकरण सोधेको कुरा प्रशासन शाखामा कार्यरत कर्मचारी राजारामले पत्रकार सम्मेलनमा स्वीकार्नुभयो । साथै उहाँँले निर्वाचन नजिकिदै गर्दा संचारकर्मीहरूले पनि राजनीतिक दलको कार्यकर्ताको पछाडि लागेर तथ्यहिन समाचार सम्प्रेषण नगर्न पनि आग्रह गर्नुभएको थियो ।