कलैया,सुन तस्करी र हुण्डी कारोबारमा जोडिएको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बाराको पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादवलाई पक्राउ गरेको हो ।
यादवले एक वर्षको अवधिमा १ अर्ब २० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार गरेको सीआईबी स्रोतले जनाएको छ । उनले पेवेलमार्फत १ अर्ब १७ करोड ३२ लाख र सजिलो पेमार्फत् ३ करोड ३८ लाखको कारोबार गरेको सीआईबीले जनाएको छ ।उनी पेवेल र सजिलो भुक्तानी सेवाका बारास्थित एजेन्ट हुन् । उनी पक्राउ परेसँगै पेवेल र सजिलो पेका सञ्चालक, कर्मचारी र एजेन्ट गरी पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।सीआईबीको अनुसन्धानका क्रममा पेवेलले २७ अप्रिल २०२३ देखि हालसम्म करिब एक वर्ष अवधिमा ८२ अर्बको कारोबार गरेको फेला परेको छ । जसमा ६१ अर्ब ५० करोड रुपैयाँ नगद जम्मा भएको छ । जसमध्ये १ अर्बको त भौचर नै भेटिएको छ । कनेक्ट आईपीएसमार्फत ४ अर्बको कारोबार भएको छ ।
















