गोकुल घोरसाइने
निजगढ,बाराको परवानीपुर गाउँपालिकामा पार्टीको पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुने नेकपा एमाले नेताहरुलाई रोक्ने उद्देश्यले जेनजीको नाममा स्थानीय युवाहरूको समूहले अवरोध गरेपछि राजनीतिक वृत्तमा चर्को विरोध र आलोचना भएको छ ।नेताहरूलाई नागरिकसँग जान नदिएर सरकारले कसरी चुनाव गराउन खोजेको हो भन्दै दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले प्रश्न गरेका छन् ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभा गर्न नदिएर सरकारले कसरी चुनाव गर्छ भन्दै प्रश्न गर्नुभयो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि सिमरामा एमालेलाई निषेध गर्न खोजिएको आशयसहित घटनालाई दुःखद भन्नुभएको छ । भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ भन्दै शर्माले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चलिरहेको केन्द्रीय कमिटी बैठकले पनि सिमरामा भएको घटनालाई संवेदनशील भन्दै सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

बुधवार बिहान सिमरामा जेनजी युवाहरु र नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताबीच झडप भएपछि स्थानीय प्रशासन सिमरा क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।युवा संघले परवानीपुर गाउँपालिकामा आयोजना गरेको मधेस प्रदेशस्तरीय कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेल र युवा नेता महेश बस्नेतसहितका नेताहरु सिमरा विमानस्थल हुदै सहभागी हुन आउने खबर पाएपछि जेनजी युवाहरुको नाममा स्थानीय केही युवाहरुले सिमरा २ स्थित एयरपोर्ट रोडमा विरोध प्रदर्शनको तयारी गरेका थिए ।
सोही क्रममा युवा संघका कार्यकर्ताहरुले जेनजी अगुवा सम्राट उपाध्यायलगायतलाई हातपात गरेपछि बढेको तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले दिउसो १३ः३० बजेबाट राती ८ बजेसम्म कफ्र्यु आदेश जारी गरेको थियो ।

नेताहरुको स्वागतमा सिमरा एयरपोर्टतर्फ जादै गरेका युवा संघका कार्यकर्ताहरुको कुटपिटबाट जेनजीका ५ जना सामान्य घाइते बनेको उपाध्यायले बताउनुभयो । उपाध्यायको भने नाक र मुखमा चोट लागेको र रगत बगेको थियो । घटनामा प्रहरी निरीक्षक जीवन लामिछाने र प्रहरी नायब निरीक्षक कृष्णनन्दन ठाकुर पनि सामान्य घाइते बनेका छन । युवा संघतर्फ पनि ३ जना समान्य घाइते बनेका छन ।झडपपछि आक्रोशित जेनजी युवाहरु युवा संघका कार्यकर्ताहरुको पिछा गर्दै विमानस्थलको गेट बाहिर पुगेका थिए । सोही क्रममा एयरपोर्टभित्र बसेका एमालेका अन्य नेता र कार्यकर्ताहरुलाई लक्षित गर्दै ढुङ्गामुडा गरिएको थियो । ढुङ्गामुडाबाट विमानस्थलको मुख्य गेट भत्किएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले ४ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

जेनजीको प्रदर्शन ढुङ्गामुडापछि सिमरा विमानस्थलको उडान बन्द गरिएको थियो । विमानस्थल बन्द भएपछि नेकपा एमालेका महासचिव पोखरेल र बस्नेत बारा आउने कार्यक्रम रोकिएको थियो ।जेनजी युवाहरुले कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै उनीहरुले त्रिभुवन राजपथको वीरगञ्ज– पथलैया सडक खण्ड दिनभरि नै अवरुद्ध पारेको सडक भने साँझ ६ बजेबाट सुचारु भएको छ । कुटपिट गर्नेविरुद्ध दिइएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि जेनजी युवाले राजमार्ग छोडेका थिए ।बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले कुटपिटमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न माग गर्दै जाहेरी परेको जानकारी दिनुभयो ।

बाराको चैनपुरमा युवा संघले बुधवार आयोजना गरेको कार्यक्रममा एमाले महासचिव पोखरेलसहितका नेताहरु सिमरा विमानस्थलबाट आउने खबर पाएपछि जेनजीको नाममा स्थानीय युवाहरुले अघिल्लो दिन नै गत भाद्र २३ को जेनजी आन्दोलनमा भएको दमनविरुद्व सिमरामा विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए ।सिमराबाट करिव १५ किमी दक्षिण जिल्लाको परवानीपुर गाउँपालिकाको चैनपुरमा राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियान आयोजना गरेको हो । भेलामा युवा संघका अध्यक्ष क्षितिज थेवे, एमाले सचिवालय सदस्य लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्य अच्युत मैनाली, ज्वाला साहलगायतका नेताहरुले शंवोधन गरेका थिए ।

यसैबीच गृह मन्त्रालयले सिमरामा एमाले कार्यकर्ता र जेनजी युवाहरूबीच झडप भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिमरामा उत्पन्न तनावको अवस्थालाई सामान्य बनाउँदै शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल लिइरहेको मन्त्रालयका सहप्रवक्ता रविन्द्र आचार्यले जानकारी दिनुभयो ।साथै अहिले त्यहाँको स्थिति सामान्य बन्दै गएको जानकारी मन्त्रालयले दिएको छ ।बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कार्यक्रम गर्नुपूर्व स्थानीय प्रशासनसँग समन्वय गर्न, र शान्तिपूर्वक कार्यक्रम सञ्चालन गर्न सबै पक्षसँग आग्रह गरेको छ ।सरकार तोकिएको मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउँदै गृह मन्त्रालयले त्यसका लागि सबै पक्षबीच आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको उल्लेख गरेको छ ।‘शान्तिपूर्वक भेला हुने र अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रचलनका लागि सबै पक्षको संयमता, समझदारी, संवाद, समन्वय र सहमति आवश्यक रहेकोले यसतर्फ गम्भीर रहन सबैपक्षसँग मन्त्रालय हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply