काठमाण्डौ – निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदको नामावलीलाई समावेशी समूह बमोजिम सच्याएर पठाउन पत्राचार गरेको छ । आयोगले दुई दिनको समयसहित आइतवार पत्राचार गरेको हो । ती दलहरूले यही मङ्सिर २६ गते सोमवार बेलुकी ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ ।

प्रतिनिधि सभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए । पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ ।
नामावली सच्चिएर प्रतिनिधित्व भइ आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने समानुपातिक प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मङ्सिर २२ गते ’थ्रेसहोल्ड’ कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो ।


















