कलैया,५ दलीय सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बारामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको सबै पदमा जितविहीन बनेको छ ।

गठबन्धनबाट बारा–१ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभातर्फ १ को (१), (२), क्षेत्र नम्बर २ को (२) र क्षेत्र नम्बर ३ को (१) गरी ४ वटा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएको कांग्रेस सबै क्षेत्रमा पराजित भएको हो । बारा १ मा बहालवाला खानेपानी मन्त्री तथा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी एमालेका केन्द्रीय सदस्य अच्युत मैनालीसँग करिव ९ हजार मतान्तरले पराजित हुनुभयो । त्यसैगरी बारा १ को (१), (२) का प्रदेशसभा सदस्यमा रमेश दंगाल र नागेन्द्रप्रसाद कानु, बारा–२ को (२) का कांग्रेस उम्मेदवार रामअयोध्या यादव र बारा–३ (२) मा जयचन्द्र चौरसिया पराजित भएका हुन् ।

त्यसैगरी सत्ता गठबन्धनबाट क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य र क्षेत्र नम्बर ३ को (१) र क्षेत्र नम्बर ४ को (१) प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको माओवादीले पनि कुनै सिट जित्न सकेन । माओवादीबाट क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा शिवचन्द्र कुशवाहा र प्रदेश सभातर्फ क्षेत्र नम्बर ३ को (१) बाट मुकेश साह र क्षेत्र नम्बर ४ को (१) बाट क्षेत्रबहादुर श्रेष्ठले उम्मेदवारी दिनुभएको थियो । क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा जसपाका रामसहाय यादव विजयी हुनुभयो भने क्षेत्र नम्बर ३ (१) मा एमालेका रविन्द्र दास श्रेष्ठले माओवादीका कुशवाहालाई पराजित गर्नुभएको थियो । त्यसैगरी क्षेत्र नम्बर ४ को (१) मा माओवादीका श्रेष्ठलाई नेकपा एमालेका देवनारायण चौधरीले पराजित गर्नुभएको थियो ।

गठबन्धनभित्रको अर्को दल नेकपा एकिकृत समाजवादी र लोसपाले भने १÷१ सिट हात पारेका छन । समाजवादीका किसान श्रेष्ठ नेकपा एमालेका इकवाल मियालाई १० हजार मतान्तरले पराजित गर्नुभएको छ । लोसपाका जितेन्द्र सोनल ४ (२) बाट जसपाका जसपाका उम्मेदवार ओझालाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । बारा ४ का निवर्तमान संघीय सांसद रहेका मियाँ टिकटकै लागि लोसपा पार्टी परित्याग गरेर उम्मेदवारी मनोनयनको दिन एमालेमा प्रवेश गरेर टिकट ल्याउनुभएको थियो ।

गठबन्धनभित्रका २ ठूला दलका उम्मेदवारहरुको पराजयलाई गठबन्धनभित्रैबाट धोका भएको बारा–१ का कांग्रेस उम्मेदवार उमाकान्त चौधरीले बताउनुभयो । उहाँले आफ्नै पार्टीका केही नेता तथा गठबन्धनबाट पनि सोचेको जस्तो मत नआएपछि आफूले पराजय बेहोर्नुपरेको बताउनुभयो ।

स्थानीय तह निर्वाचनलाई आधार मान्दा बारा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसको मात्रै ३२ हजार ४०२, लोसपाको ९ हजार ५०५, माओवादी केन्द्रको ६ हजार ६५८ र नेकपा एकीकृत समाजवादीको करिव २ हजार मत छ । सत्ता गठबन्धनसँग ५० हजार भन्दा धेरै मत भएर पनि आफ्नो उम्मेदवार पराजित हुनुमा कांग्रेसभित्र र सत्ता गठबन्धनका दलहरुबीच टिकट बाँडफाँटमा भएको अन्तरकलहमा एमालेले फाइदा उठाएको टिप्पणी छ ।

बारा १ मा मैनालीले ३९ हजार १९५ मत प्राप्तगर्दा कांग्रेस उम्मेदवार चौधरीले ३० हजार ५६ मतमात्रै ल्याउनुभयो । स्थानीय तह निर्वाचनलाई आधार मान्दा बारा–१ मा एमालेको २६ हजार ६७० र एमालेसँग गठबन्धन गरेको जसपाको मत ६ हजार १७१ मात्रै देखिन्छ । दुवै दलको मत जोड्दा करिब ३२ हजार हुने भए पनि मैनालीले त्योभन्दा ७ हजार बढी मत प्राप्त गर्नुभएको छ ।

२०७४ को निर्वाचनमा बाराको एउटै निर्वाचन क्षेत्रमा नजितेको एमाले यसपटक प्रतिनिधि सभा तर्फ २ र प्रदेश सभाको ४ क्षेत्रमा जित निकालेको छ । २०७४ मा बारा–१ मा कांग्रेसका उमाकान्त चौधरी, २ मा जनता समाजवादी पार्टीका रामसहाय यादव, बारा–३ मा जसपाका रामबाबु यादव र बारा–४ मा लोसपाका एकवाल मियाँ निर्वाचित भएका थिए । २०७४ मा बाराको २ वटा संघीय निर्वाचन क्षेत्र जितेको जसपा यसपटक संघतर्फ एउटामा झरेको छ भने प्रदेशतर्फ २ क्षेत्रमा विजयी बनेको छ । जसपाका सरोज यादव बारा १ (२) बाट र बच्चा यादव क्षेत्र नम्बर २ (२) बाट प्रदेश सभामा विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा जसपाबाट क्षेत्र नम्बर २ (१) को प्रदेश सभामा विजयी शारदाशंकर साह यसपटक सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको रुपमा विजयी बन्नुभएको छ ।

त्यसैगरी एमालेकी ज्वाला साह निर्वाचित भएको बारा ३ मा ५ दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार लालबाबु सिंह तेस्रो स्थानमा पुग्नुभएको छ । सो क्षेत्रको (ख) मा एमालेका महम्मद समिर विजयी हुनुभएको छ । उहाँले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार जयचन्द्र चौरसियालाई पछि पार्नुभएको हो ।

Leave a Reply