पुष्पराज खतिवडा

मनहर्वा,कोल्हबी नगरपालिकाका ४३ वर्षीय पुरुषको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक नाबालकलाई पक्राउ गरेको छ । कोल्हबी नगरपालिका ११ रामपुर्वाका परीक्षण चौधरीको हत्या अभियोगमा प्रहरीले नाबालकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेका नाबालकले चौधरीको हत्या गरेको स्विकार गरेका छन् । चौधरीको शव फेला परेको केही घण्टामै पक्राउ परेका नाबालकले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
घटनाबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बोगटीले नाबालकलाई अप्राकृतिक मैथुनका लागि चौधरीले जबरजस्ती गरेको र सोही कारण नाबालकले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताउनुभयो । बोगटीका अनुसार मंसिर १३ गते राती चौधरीको हत्या भएको र १४ गते बिहान ९ बजे खाल्डोमा गाडेको अवस्थामा उनको शव फेला परेको हो ।
प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार घटनाको दिन चौधरी र नाबालक गाँउकै मेलामा घुम्न गएका थिए । मेलामा दुवैले मदिरा सेवन गरे । मेलाबाट फर्कने क्रममा चौधरीले नाबालकलाई अप्राकृतिक मैथुनका लागि प्रस्ताव गरे । नाबालकले अस्वीकार गरे पनि चौधरीले जबरजस्ती गरेपछि नाबालकले चौधरीको अनुहारमा मुक्का प्रहार गरेका थिए । चौधरी भुईमा बजारिएको बेला नाबालकले नजिकै रहेको दाउराले टाउकोमा पटकपटक प्रहार गरेर चौधरीको हत्या गरेको बताइएको छ ।
मृत्युपछि आफ्नो घरबाट कोदालो ल्याएर स्थानीय सियाराम चौधरीको गोठ नजिकै खाल्डो खनेर उनले चौधरीको शव गाडेका थिए ।
स्थानीयले भोलिपल्ट शव देखेपछि कोल्हबीस्थित इलाका प्रहरी कार्यालयमा सूचना दिएका हुन । हत्यारा पत्ता लगाउन प्रहरीले कुकुरको समेत प्रयोग गरेको भए पनि दोषि पत्ता लाग्न सकेको थिएन ।
अनुसन्धानका क्रममा चौधरी घटनाको अघिल्लो रात नाबालकसंग रहेको खुल्न आएपछि प्रहरीले नाबालकलाई घरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको र बयानका क्रममा नाबालकले घटना स्वीकार गरेका हुन ।
आफूमाथि अप्राकृतिक मैथुनका लागि जबरजस्ती गरेको विषयमा चौधरीले गाँउमा हल्ला गर्नसक्ने र आफ्नो बदनाम हुने डरले हत्या गरेको भनेर नाबालकले बयान दिएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।
पक्राउ परेका नाबालकलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी नियन्त्रणमा राखेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको बोगटीले जानकारी दिनुभयो ।















