खासगरी यातायातको दुनियामा सबैभन्दा सुरक्षित मानिन्छ, हवाईयात्रा । तर नेपालमा हवाईजहाजको दुर्घटना नियमित आकस्मिकता जस्ता छन् । गणतन्त्र दिवसको दिन जेठ १५ गते पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज अनकन्टार हिमाली क्षेत्रमा गएर दुर्घटित भयो। त्यसले नेपाली हवाईसेवा सुरक्षामा प्रश्न खडामात्रै गरेको छैन, युरोपेली संघको कालोसूचीबाट नेपाल हट्ने आशामाथि फेरि तुषारापात भएको छ ।

यो दुर्घटनाको बारेमा मौसम खराबीसँग जोडेर प्रारम्भिक आँकलन बाहिर आएको छ । वायुसेवा क्षेत्रका विज्ञहरू भने हवाई दुर्घटनाको मुख्य कारण त्यसलाई मात्रै मान्दैनन् । विगतका दुर्घटनाका प्रतिवेदनहरूले औंल्याएका कमजोरी पनि मौसम खराबी मात्रै होइनन् ।

धेरै दुर्घटनाका कारण हेलचक््रयाइँ भनेर प्रतिवेदनहरूले औंल्याउँदै आएका छन । अर्काेतिर भने बितेर गएका जहाज चालकहरूलाई दोष दिएर अरू जवाफदेहीहरूले उन्मुक्ति लिने काम भइरहेको भन्ने पनि छ ।

नेपालमा जति पनि हवाई दुर्घटना भएका छन्, तीमध्ये पहाडी र हिमाली क्षेत्रमै धेरै भएका छन् । यसै पनि ४० वर्षभन्दा पुराना जहाज र दुर्गम हिमाली क्षेत्रको उडान जोखिमपूर्ण हुनु स्वाभाविक हो ।

मुस्ताङमा भएको तारा एयर दुर्घटनाको खास कारण चाहिँ यसको छानबिन समितिबाट प्रतिवेदनमै आउला । त्यसपछि मात्रै यसबारे यकिन हुन सकिन्छ । तर छानबिन पनि फगत औपचारिकता नबनोस् भन्नेतर्फ भने सरोकारवाला र सम्बन्धित निकाय चनाखो हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here