निजगढ, ५ कार्तिक– छठ पर्वको लागि ब्रतालुहरुले बारा जिल्लाका विभिन्न स्थानमा पर्ने नदी किनारा र जलाशयहरु सजिसजाउ पारेका छन ।

श्रद्धालुहरुले नदी किनारामा केराको थम्बा, रंगिचङ्गी कपडा र ध्वजाले सजाएर आकर्षक पण्डालसहित घाट निर्माण गरेका हुन । कोरोना संक्रमणबाट जोगिन जिल्लाका केही छठघाटमा भक्तजनहरुको लागि मास्क र सेनिटाइजर अनिवार्यसमेत गरिएको छ ।

कात्तिक शुक्ल चौथीका दिन बुधबारदेखि नै छठ पर्व सुरु भएको हो । जिल्लाका विभिन्न पालिकामा रहेका नदी तथा सार्वजनिक र निजी जलाशयहरूमा घाट निर्माणको काम धमाधम भइरहेको छ ।

बाराको दक्षिणी सिमावर्ति सिम्रौनगढदेखि उत्तर निजगढको बकैया खोलासम्म घाट बनाउन सुरु गरिएको हो । नदी नभएको ठाउँमा पोखरी–तलाउलाई पनि झकिझकाउ बनाउन स्थानीय भक्तालुहरु जुटेका छन । ब्रतालुलाई बस्नका लागि पन्डाल बनाउने, घाट सजाउने र ब्रतालुको सहजताका लागि सरसफाइ र बत्तीको व्यवस्था मिलाउन भक्तालुहरु जुटेका हुन् ।जलाशयलाई सफा गर्ने, सजाउनेसंगै छठको गीत–संगीत बजाउने क्रम पनि सुरु भइसकेको छ ।

चार दिनसम्म मनाइने यो पवमा शुक्रबार साँझ र शनिबार बिहान सूर्यलाई अर्घ दिएपछि समापन हुन्छ ।
छठ पर्वको दोस्रो दिन बिहीबार व्रतालुले रोटी खाने विधि ‘खरना’ गरेका छन । साँझ सक्खरमा पकाएको खीर र रोटी खानका लागि पिठो ल्याएर तयारी गरिएको निजगढ नगरपालिका वडा नम्बर– ८ की श्रीपती साहले बताउनुभयो । शुक्रबार दिनभरि उपवास बसी साँझ घर नजिकको घाटमा पुगेर अस्ताउँदो सूर्य चन्द्र दर्शनलाई अर्घ दिन्छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ ।

यसैबीच कोरोना संक्रमणबाट जोगिन पर्व व्यवस्थापन समितिले यो वर्ष सुरक्षा सतर्कतालाई पनि जोड दिएको छ । निजगढस्थित छठ घाटमा भक्तजनहरुको लागि मास्क र सेनिटाइजर अनिवार्य गरिएको निजगढ छठ पूजा समितिका संयोजक हृदय रौनियारले बताउनुभयो ।

कोरोना संक्रमणबाट जोगिन सुरक्षा सतर्कतालाई ध्यान दिइएको उहाँले बताउनुभयो । उहाँले छठको दिन घाटमा आउने सबैलाई अनिवार्य मास्क लगाउन र सेनिटाइज गर्ने बन्दोबस्त मिलाएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here